धादिङ । धादिङको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले गुणस्तरीय नाला र सडक निर्माणका लागि अनुगमन गर्दै निर्माणमा कुनै कमशल काम नगर्न निर्देशन दिएका छन् ।
दोस्रो चरणमा पालिकाको वडा नम्बर ८ को वडा कार्यालयसम्म पक्की नालासहित कालोपत्रे गरिने भएकाले अध्यक्ष श्रेष्ठले उक्त सडक खण्डमा भइरहेको निर्माण कार्यको स्थलगत निरिक्षण गर्दै निर्माण व्यवसायीलाई गुणस्तरीय निर्माण सामाग्री प्रयोग गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
अध्यक्षको सचिवालयका अनुसार बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शालिकराम जम्कटेलको पहलमा उक्त काम भइरहेको छ ।

गजुरी गाउँपािलकाका अध्यक्ष श्रेष्ठको सचिवालयले भनेको छ, ‘बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री माननीय श्री शालिकराम जम्कटेलज्यूको पहलमा मिलनटार, पर्खाले, थुम्मकी चौतारा सडक निर्माणका लागि बहुवर्षीय आयोजनाका निम्ति ६८ करोडको बजेट तर्जुमा गरिएको हुँदा उक्त बजेट बाट पहिलो चरणको निर्माण कार्य वडा नं. ७ बगैंचासम्म सम्पन्न भएको हुँदा दोस्रो चरणको निर्माणको काम १९ करोड लागतमा टाइमलि कन्ट्रक्सन प्रालिद्वारा सोही स्थानबाट वडा नं. ८ को वडा कार्यालय सम्म पक्की नालासहित कालोपत्रे गरिने भएको हुँदा उक्त सडक खण्डमा भैरहेको निर्माण कार्यको स्थलगत निरीक्षण गर्नुका साथै निर्माण व्यवसायीलाई गुणस्तरीययुक्त निर्माण सामाग्री प्रयोग गरी समयमै काम सम्पन्न गर्नु भनि निर्देशन दिनुका साथै पालिकाले गर्नुपर्ने हरेक किसिमको सहयोग र समन्वय रहने कुरा व्यक्त गर्नुहुँदै, गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठ ज्यू, वडा नं. १ का अध्यक्ष तारानाथ भण्डारी ज्यू ।’






















