काठमाडौं । हरेक महिनाको अन्तिम शनिबार विभिन्न साहित्यिक गतिविधि संचालन गर्दै आएको अभिनव साहित्य समाजको २८४ औं शृङ्खला राजधानीमा सम्पन्न भएको छ । शनिबार समाजले राजधानीमा एक कार्यक्रम गरी अभिनव कमला संघर्षशील नारी सम्मान २०८२ पुराणवाचिकाद्वय गार्गी चौलागाईँ ‘शाकम्भरी’ र सरस्वती चौलागाईँ ‘शाम्भवी’ लाई संयुक्त रूपमा अर्पण गरेको छ । २५ हजार रुपैयाँ राशी सहितको यो सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, विशेष अतिथिहरू गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ लगायतले प्रदान गरेका हुन् ।
समाजका अध्यक्ष ‘वेदमणि’ ले सम्मानित व्यक्तित्वद्वयको विषयमा जानकारी गराउँदै समाजका सत्पात्रहरूले सिङ्गो मुलुकलाई सही दिशानिर्देश गर्ने ल्याकत राख्ने टिप्पणी गरे ।
सोही अवसरमा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्यालद्वारा लिखित ‘अन्तर्मनका तरङ्ग’ नामक कथा सङ्ग्रहको लोकार्पण गरिएको थियो ।
सङ्ग्रहमा साहित्यकार अर्यालले २०३८ सालबाट लेख्न थालेका समसामयिक परिवेशका विभिन्न ५१ वटा कथा सङग्रहित छन् । लोकार्पित कृतिको समीक्षा गर्दै साहित्यकार रमेश प्रसाद खनालले अर्यालका कथाहरूमा समग्र नेपाली समाज तथा देशको सजीव चित्र पाइने धारणा राखे । लामो समयदेखि विभिन्न साहित्यिक तथा सामाजिक संघ संस्थाहरूमा आबद्ध अर्यालका ‘समृद्धि’ संयुक्त मुक्तक सङ्ग्रह (२०७९) र ‘आवरण’ कविता सङ्ग्रह (२०८१) प्रकाशित भइसकेका छन् ।
कार्यक्रममा उपस्थित स्रष्टाहरूले मुलुकको समसामयिक सहित अन्य विषयमा केन्द्रीत रही कविता तथा मुक्तकहरू प्रस्तुत गरेका थिए ।






















