काठमाडौं । नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको रोमाञ्चक जित हासिल गरेको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा आइतबार भएको खेलमा जितका लागि एक सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन मात्र बनाउन सक्यो । जितसँगै नेपालले विश्वकप छनोटको सम्भवना बलियो बनाएको छ । नेपालले सुपर सिक्समा चार अंक बनाएको छ । ओमानको पनि चार अंक छ । युएईले दुई अंक बनाउँदा कतार, जापान र सामोआ अंकबिहिन छन् ।
युएईका लागि अलिशान सरफुले ४० बलमा तीन चौका र पाँच छक्काको सहयोगमा सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ध्रुव पराशरले ३२, ओपनर जोनाथन फिगीले १९ र जाहित अलीले ११ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । सोमपाल कामी, गुल्शन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए । खेलमा ऐरी प्लेयर अफ द म्याच बने । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले ४७ बलमा चार चौका र एक छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै कुशल भुर्तेलले २८, कप्तान रोहितकुमार पौडेलले २०, गुलसन झाले १४ र कुशल मल्लले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
बलिङतर्फ युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले एक एक विकेट लिए । नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो ।
नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । यस्तै युएईले समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा स्थान बनाएको हो । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो । नेपालले सुपर सिक्सको दोस्रो खेल सोमबार कतारसँग, तेस्रो खेल बुधबार ओमानसँग र अन्तिम तथा चौथो खेल शुक्रबार सामोआसँग खेल्नेछ ।
सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकाले संयुक्तरूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।






















