काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिकरुपमा डेबिट कार्ड प्रयोग गरी निकाल्न मिल्ने रकम १ लाखबाट घटाएर ५० हजार रुपैयाँमा झारेको छ । भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले डेबिट कार्डबाट दैनिक ५० हजार रुपैयाँ मात्र निकाल्न मिल्ने व्यवस्था गरेको हो । यसभन्दा अगाडि डेबिट कार्डबाट दैनिक १ लाख रुपैयाँसम्म रकम झिक्न मिल्ने व्यवस्था रहेको थियो ।
नयाँ सर्कुलर अनुसार अब डेबिट कार्डबाट प्रति कारोबार २० हजार रुपैयाँ निकाल्न मिल्नेछ । यसअघिको व्यवस्थाअनुसार प्रति कारोबार २५ हजार रुपैयाँ निकाल्न सकिन्थ्यो । त्यस्तै मासिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ । यसअघि प्रतिमहिना ४ लाख रुपैयाँसम्म रकम झिक्न सकिने व्यवस्था रहेको थियो ।
राष्ट्र बैंकले प्रिपेड कार्ड र क्रेडिट कार्डबाट गरिने कारोबार सीमामा भने कुनै परिवर्तन गरेको छैन । यसरी डेबिट कार्डबाट निकाल्ने रकम घटाउनुको अर्थ डिजीटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्नु रहेको केन्द्रीय बैंक स्रोतको भनाइ छ ।























