काठमाडौं । वर्ष, बाढीपहिरो लगायत दुषित पानीको प्रयोग, सरसफाईको कमी लगायत विभिन्न कारणले मानिसलाई हैजा निम्तन्छ । यदि यही हैजालाई समयमै नियन्त्रण गरिएन भने यसले महामारीको रुप पनि लिन सक्दछ । त्यस्तो महामारी नियन्त्रणका लागि सरकारले बेला बेलामा यसविरुद्धको खोप दिने गर्दछ । प्रस्तुत छ अर्थ प्रणाली डट कमले हैजा रोग नियन्त्रणका लागि लगाइने खोपबारे नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्यसेवा विभाग मातहतका महाशाखाबाट जारी हैजा विरुद्धको खोपबारेको एक सामग्रीः
१. हैजा विरुद्धको खोप कस्तो प्रकारको खोप हो ?
हैजा रोग विरुद्धको खोप मुखबाट खुवाइने खोप हो। यो खोप सुरक्षित र प्रभावकारी छ । यो खोप तयारी झोलको रूपमा प्लाष्टिकको ट्यूबमा उपलब्ध हुन्छ। यस खोप अभियानको लागि नेपालमा उपलब्ध हुने खोप इयूभिकोल–एस हो। यो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट अनुमति प्राप्त छ ।
२. यो खोप खान किन जरूरी छ ?
हैजा रोगबाट सुरक्षित हुन यो खोप खान जरूरी हुन्छ । साथै हैजाको महामारी भएका स्थानबाट अन्य स्थानमा यो रोग फैलिनबाट रोक्नको लागि यो खोप खानु पर्दछ ।
३. यो खोप कति मात्रा खुवाईन्छ ?
प्रतिकार्य स्वरूप सञ्चालन गरिन लागेको हैजा विरूद्धको खोप यसको अभियान सञ्चालन भएको समयमा एकपटक दिइनेछ ।
४. हैजा विरुद्धको यो खोप अभियान अहिले चाहीँ कहिले सञ्चालन हुँदैछ ?
यो खोप अभियान यही २०८२ साल असोज–कार्तिक महिनामा सञ्चालन हुँदैछ ।
५. हैजा विरुद्धको यो खोप अभियान कहाँ सञ्चालन हुँदैछ ?
यो खोप अभियान पर्सा जिल्लाका सबै स्थानीय तहहरू र बारा जिल्लाका कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिका गरी ६ वटा स्थानीय तहहरूमा सञ्चालन हुँदैछ ।
६. यो खोप कुन उमेर समूहलाई दिइन्छ ?
यो खोप एक वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिहरूले खानु पर्दछ। गर्भवती महिला र स्तनपान गराई रहने महिलालाई पनि यो खोप दिन हुन्छ । कुपोषण भएको, रोग प्रतिरोधात्मक क्षमता कम भएको व्यक्ति, एचआईभी संक्रमण भएको वा एड्स भएको व्यक्तिलाई पनि यो खोप दिनु पर्दछ ।
७. नियमित खोप वा अन्य खोपसँगै यो खोप खान हुन्छ कि हुँदैन ?
हुन्छ । नियमित खोप तथा अन्य खोपसँगै हैजा विरुद्धको खोप खान हुन्छ ।
८. यो खोप कसले खानु हुँदैन ?
यो खोप एकवर्ष भन्दा कम उमेरका बालबालिकाले खानु हुँदैन । ज्वरो आईरहेको, आडापखाला भएको वा अन्य कुनै सिकिस्त बिरामी भएको अवस्थामा यो खोप दिनु हुँदैन । तर निको भएपछि यो खोप दिनु पर्दछ । विगतमा यो खोप खुवाउँदा वा यो खोपमा भएको कुनै तत्वको कारणले रियाक्सन (प्रतिक्रिया) भएको भए, स्वास्थ्यकर्मी वा चिकित्सकको परामर्श पछि मात्र यो खोप दिन सकिन्छ ।
९. यो खोप लिएपछि के(के असरहरू देखिन सक्छन् ?
यो खोप खाएपछि अत्यन्तै न्यून संख्यामा निम्न्न सामान्य असरहरू देखिन सक्छन् । र यी असरहरू प्रायः आफै ठीक हुन्छ ।
–पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने ।
–ज्वरो आउने, टाउको दुख्ने, माँसपेशीहरू दुख्ने, खाना खान मन नलाग्ने, थकाई लाग्ने ।
–खोकी लाग्ने, घाँटी दुख्ने, मुखमा घाउ आउने ।
–जिउ चिलाउने ।
१०. यो खोप अभियानमा खोप केन्द्र कहाँ कहाँ सञ्चालन गरिन्छ ?
यस खोप अभियानमा निम्न स्थानहरूमा खोप केन्द्र सञ्चालन गरेर हैजा विरूद्धको खोप दिइन्छः
–महानगर, उपमहानगर, नगरपालिका,गाउँपालिका कार्यालय र वडा कार्यालय।
–सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्थाहरू र अस्पतालहरू ।
–विद्यालय, कलेज तथा अन्य शिक्षण संस्था ।
–सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाका कार्यालय ।
–नियमित खोप सेवा सञ्चालन गर्ने बाह्य खोप केन्द्र ।
–मन्दिर, मस्जिद, बसपार्क, नेपाल–भारत सिमानाका मुख्य नाका ।
–उद्योग, कारखाना, इटा भट्ठा जस्ता अन्य स्थानहरू ।
११. खोप सञ्चालन हुँदाको दिन यो खोप लिन छुट भएमा के गर्ने ?
आफूलाई पाएक पर्ने स्थानको खोप केन्द्रबाट खोप लिन छुटेमा नजिकैको अर्को खोप केन्द्रमा गएर यो खोप लिनु पर्दछ ।
हैजा विरुद्धको खोप खाइसकेपछि पनि, हैजाको रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, स्वच्छ खाना खाने, शौचालयमा मात्र दिसा पिसाब गर्ने, साबुन पानीले राम्रोसँग हात धुने जस्ता बानी व्यवहार अनिवार्य रूपमा अपनाउनु पर्दछ ।





















