काठमाडौं । सरकारले बारा र पर्सामा फैलिएको हैजाविरुद्ध खोप दिने भएको छ । हैजा रोग नियन्त्रणका लागि पर्सा (असोज २६ गते देखि ) र बारा (असोज २८ गते देखि ) जिल्लामा खोप दिइनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहहरुमा र बारा जिल्लाका ६ स्थानीय तह कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकाका एक वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइने काठमाडौंमा एक कार्यक्रम गरी जानकारी दिइएको हो ।
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं १२ को मुरली टोलमा गत भदौ ६ गते हैजा फैलिएको थियो । अहिले पर्सा र बारा जिल्लामा कुल १ हजार ६८५ बिरामी फेला परिसकेको महाशाखाले जनाएको छ । खोप रोग एवं महामारी नियन्त्रणको पुरक उपाय भएको सरकारी भनाइ छ । खोप लगाएकाहरुलाई ८२ प्रतिशत रोग प्रतिरोधात्मक क्षमता बढ्ने महाशाखाले जनाएको छ ।
अहिले पर्सा र बारा जिल्लामा फैलिएको हैजाको महामारी तथा हालैको वर्षापछि आएको बाढीले ती क्षेत्रमा सिर्जना गरेको उच्च जोखिमलाई ध्यानमा राखी हैजा विरुद्धको खोप अभियान संचालन गर्न लागिएको सरकारी भनाइ छ ।