काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गरेका छन् । मन्त्री घिसिङ, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, आयोजना प्रमुख चक्रवर्ती कण्ठ सहितको टोलीले स्थलगत निरीक्षण गरी निर्माण व्यवसायी, नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलगायतसँग छलफल गरेको थियो ।
मन्त्री घिसिङले आगामी १ मङ्सिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै रङगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए । रङ्शालाको गुरुयोजना बमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव नहुने गरी रङ्शाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताउँदै उनले सरकार परिवर्तन हुँदैमा निर्माण प्रभावित नहुनेसमेत प्रष्ट पारे ।
क्यानका सचिव पारस खड्काले हालको नेपालको संवेदनशील अवस्थामा हुन लागेको एनपिएलले देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा पनि सकारात्मक सन्देश प्रवाह हुने बताए । उनले मैदान तयारी अवस्थामा रहेको, फ्लड लाइड जडान र प्यारापिट निर्माण कार्य एनपिएल अगाडि नै निर्माण सम्पन्न हुने विश्वास समेत व्यक्त गरे ।
रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ । फ्लडलाईट जडान कार्यको प्रगति ६० प्रतिशत रहको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०र३० टनका हाइमास्ट लाइट जडान भइरहेको छ । ६ वटा मध्ये २ वटा लाईट टावर ठड्याउने कार्य सम्पन्न भईसकेको छ । बाँकी उपकरणहरुको आपूर्ति समेत भइसकेको छ ।