काठमाडौं । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ।
नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।
केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ ।
यसैबीच गोरखा दरबारबाट आज बडादशैं अन्तर्गत फूलपाती पर्वको अवसरमा काठमाडौँस्थित हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको छ । बिहान साढे ७ बजे शुभसाइतमा पूजा–अर्चना गरेर फूलपातीसहितको डोली सरकारी गाडीमार्फत पठाइएको हो । बाजागाजासहित र्याली गरी फूलपातीको आीदाइ गरिएको थियो । गोरखाबाट पठाइएको फूलपाती आजै साँझ हनुमान ढोकामा भित्र्याइने परम्परा रहेको छ ।
फोटोः अमूल्य तिवारीबाट






















