Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दशैं अघि नै देश भरिका सडक खाल्डारहित बनाउने काम अघि बढाउन निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजू फस्र्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बुधबार र बिहिबार चलेको सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादनको समीक्षा कार्यक्रमको समापन शत्रमा उनले कार्यसम्पादनका हरेक चरणमा आर्थिक सुशासन कायम गर्न निर्देशन दिएका हुन् । गुणस्तरीय निर्माण कार्यलाई अघि बढाउन विभाग अन्तर्गत रहेका प्रयोगशालाहरुको क्षमता विकास गरि पूर्ण रुपमा सञ्चालनको वातावरण बनाउन पनि उनले निर्देशन दिए ।

पुल निर्माणको क्षेत्रमा देखिएका समस्यालाई मन्त्रालयले गम्भीर रुपमा लिएको भन्दै मन्त्री दाहालले समस्याग्रस्त पुलको निर्माण कार्य अघि बढाउन विशेष ध्यान दिन आवश्यक रहेको बताए । देश भरिमा निर्माण शुरु भई अलपत्र परेका, ठेक्का लागेर पनि शुरु नभएका वा पूरा नभएका, त्रुटी देखिएका पुलहरुको समस्या लामो समय सम्म रहन नदिन उनले निर्देशन दिए ।

राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय महत्वका योजना, रुपान्तरणकारी कार्यक्रम जस्ता विशेष महत्वका क्षेत्रमा श्रोत साधनको अभाव हुन नदिने समेत उनले प्रतिवद्धता जनाए । यस्तै उत्तर दक्षिण राजमार्ग, त्रिदेशीय करिडोर, राजश्व संकलनमा सहयोग पुग्ने संरचना, कृषि उपजको बजारीकरण लगायतमा सहयोग पुाग्ने आयोजना, योजनामा समेत विशेष ध्यान दिने उनले जनाए ।

यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले दशैं अघिनै देश भरिका सडक खाल्डारहित बनाउने काम अघि बढाउन निर्देशन दिए । गत आर्थिक वर्षको पूँजीगत खर्चको नतिजाबाट उत्साही मात्र नभई थप नतिजा आउने गरि काम गर्न निर्देशन दिए ।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न कार्यालय, कार्यालय प्रमुख तथा निर्माण व्यवसायीलाई पुरस्कृत गरिएको थियो । दुई दिन सञ्चालन भएको कार्यक्रममा सडक विभाग अन्तर्गतका देश भरिका कार्यालय प्रमुख, दातृनिकायका प्रतिनिधी तथा सरोकार राख्ने अन्य कार्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।

Health Tips Ad Road Block