काठमाडौं । नबिल बैंक लिमिटेडले आज साउन ६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिवेन्चर २०८९’ निष्काशन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । त्यसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिने र बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
नबिल बैंकको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते हुनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणालीमार्फत ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।






















