काठमाडौं । अब सार्वजनिक बिदाका दिन पनि धरहरा चढ्न पाइने भएको छ । पुनर्निर्माणपछि खुला गरिएको धरहरा अब दैनिक दुई चरण (सिफ्ट) मा खुला गरिने भएको छ । साउन १ गतेदेखि दुई चरणमा सञ्चालन हुने तयारी भइरहेको शहरी विकास मन्त्रालयले जनाएको छ । धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्दछ । शहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण मैनालीले अब सार्वजनिक बिदाका दिनसमेत बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिएका हुन् । धरहरा अवलोकनका लागि दिनहुँ मानिसको आकर्षण बढ्दै गएको हुनाले हप्ताको सातै दिन दुई चरणमा सञ्चालन तयारी भइरहेको उनले बताए ।
भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा धरहरामा टिकट बिक्रीबाट चार करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व सङ्कलन भएको शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो ।
धरहरा चढ्न विदेशी पर्यटकसमेत आउने गरेका छन् । सार्क मुलुकबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका मुलुकबाट आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।






















