टर्की । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल जस्ता भूपरिवेष्ठित मुलुकहरुको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएका छन् । टर्कीको ईस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ लाई संवोधन गर्दै उनले भूपरिवेष्ठित मुलुकहरुले पनि समुद्र सम्मको पहुँच स्थापित गर्नु पर्नेमा जोड दिएका हुन् । समारोहमा ‘भूपरिवेष्ठितबाट भूजडीत प्रयासमार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरहरु’ विषयमा संवोधन गर्दै उनले सो कुरामा जोड दिए ।
‘‘यदि हामी यातायात पूर्वाधारद्वारा कनेक्टिभिटी कायम गर्न सफल भयौं भने, समुन्द्री पहुँच समेत प्राप्त गर्न सकिन्छ, त्यसैले नेपालसहित सबै स्थलाबद्ध मुलुकहरूले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै पूर्वाधार विकासमा संलग्न हुनु आवश्यक छ’ मन्त्री दाहालको भनाई थियो ।
नेपाल जस्ता भूपरिवेष्ठित मुलुकहरुलाई ‘कनेक्टीभिटी’ (सडक सञ्जाल तथा पूर्वाधार) को माध्यमबाट समुद्री पहुँचसम्म पुर्याउन क्षेत्रीय सहकार्यको आवश्यकता रहेको उनले उल्लेख गरे ।
भूपरिवेष्ठितबाट भूजडीत बन्न, सडक, रेल, र बन्दरगाहमा मात्र नभई सहकार्य, विश्वास, र साझा दृष्टिकोणमा पनि लगानी गर्नुपर्ने भन्दै मन्त्री दाहालले नेपाल सबै विकास साझेदार, छिमेकी मुलुकहरू तथा अन्तर्राष्ट्रिय निकायहरुसँग सहकार्य गर्न तयार रहेको प्रष्ट पारे ।
छिमेकी मुलुकहरुसँगको ‘कनेक्टिभिटी’ प्राथमिकतामा
संवोधनका क्रममा उनले छिमेकी मुलुकहरुसँग जोड्ने रणनीतिक करिडोरहरुलाई प्राथमिकता दिएको पनि बताएका छन् । नेपालले बहुआयामिक तथा बहुदिशात्मक कनेक्टिविटी नीति अंगिकार गरेको उल्लेख गर्दै उनले निर्माणाधिन करीडोरहरुले विशाल भूगोल र जनसंख्या भएका दुई छिमेकी मुलुकहरुलाई जोड्ने उल्लखे गरेका छन् ।
विभिन्न उत्तर–दक्षिण करिडोरहरू निर्माणाधीन अवस्थामा रहेको र तिनले हिमाल देखि तराईसम्म हुँदै बन्दरगाहाहरु सम्मे जोड्ने बताए । ‘हामी चीनसँग ट्रान्स–हिमालयन कनेक्टिविटी परियोजना अन्तर्गत राजमार्ग विस्तार र रेलमार्गको सम्भाव्यता अध्ययनमा संलग्न छौं’ उनले भने, ‘नेपाल बंगलादेशका बन्दरगाहहरूसम्म पहुँच विस्तार र बिम्सटेक, बीबीआईएन जस्ता क्षेत्रीय संरचनाहरूमार्फत दक्षिण–पूर्वी एशिया सम्म जोड्ने योजनामा कार्यरत छ ।’
नेपाल प्राकृतिक विपद्—बाढी, पहिरो, र भूकम्प—प्रति अत्यन्त संवेदनशील मुलुक रहेको उल्लेख गर्दै मन्त्री दाहालले हिमाल, पहाड, चुरे भावर, तराई जस्ता विशिष्ट भौगोलिक अवस्था रहेको नेपालमा कमजोर माटो र मिश्रित चट्टानी संरचनामा आधारित भएका कारण पहिरोको जोखिम उच्च रहेको पनि बताए ।
हिमाली क्षेत्रका हिउँदे नदीहरू तीव्र गतिको साथ बग्ने, पहाडी क्षेत्रमा बेगवान हुने र तराईमा आई पुग्दा समेत तिव्रता कायमै हुने गरेका कारण नेपालले हरेक वर्ष बाढी र पहिरोबाट ठूलो क्षति व्यहोर्नु परेको उनले बताए । यस प्रकारको भौगालिक अवस्था र विशिष्टता पनि नेपालको यातायात पूर्वाधारका लागि प्रमुख चुनौती रहेको मन्त्री दाहालले प्रष्ट पारे ।






















