ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

‘माटोमा सुधार गरेर बाली लगाउन सकेमात्र सोचेअनुसार उब्जनी लिन सकिन्छ’

माटोमा सुधार ल्याउन किसानले गर्नसक्ने उपायहरु यस्ता छन् !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषिप्रधान मुलुक नेपालमा माटोको अवस्था बुझ्न नसक्दा पछिल्लो समय बाली, बोटविरुवामा समस्या आउने देखि विभिन्न नयाँ नयाँ अवस्था देखिने गरेको छ । नेपालमा मुख्य धानबाली लगाउने सिजन (रोपाईँ गर्ने) समय भइरहेका बेला माटोको अवस्थाबारे जान्नसके धान लगायत अन्य लगाइएका खाद्यबाली, बोटबिरुवाले सहजै खाद्यतत्व प्राप्त गर्ने र भनेअनुरुप उब्जनी लिन सकिने विज्ञहरुको मत रहेको छ । यसै सन्दर्भमा प्रस्तुत छ केन्द्रीय प्रयोगशाला, हरिहरभवन, ललितपुरका माटो विज्ञ राजु ढकालसँग अर्थ प्रणाली डट कमले गरेको कुराकानीको सम्पादित अंशः

बाली, उब्जाउको हिसाबले नेपालको माटोको अवस्था कस्तो छ ?

भौगोलिक वातावरणअनुसार र हाम्रो धरातलीय स्वरूपअनुसार नेपालको अवस्थालाई तीन भागमा विभाजन गरिएको छ । तराईको भाग, खोचहरू र हिमाली भेग । यी तीनवटा भागमा वर्षा र हावापानी फरक–फरक हुन्छ । प्रांगारिक पदार्थ पनि कतै बढी र कतै कम उपलब्ध छ । बाली सघनताको हिसाबले तराईको माटोमा अम्लियपन बढ्दै गएको छ । अन्यत्र भागमा पनि अम्लियपनको मात्रा क्रमशः बढ्दै गइरहेको पाइन्छ । यसले उत्पादनमा ह्रास हुँदै गइरहेको छ ।

सामान्य किसानले अम्लियपन भएको बुझ्ने कसरी ?

माटोमा भएको अम्लियपन र क्षारीयपन पीएच स्केलको आधारमा छुट्याउन सकिन्छ । पहिले पनि विज्ञानमा पनि पढ्ने गरिएको थियो । माटोमा पीएच स्केल ० देखि १४ सम्म हुने गर्दछ । त्यसमा ७ लाई तटस्थ मानिन्छ । सातभन्दा माथि पीएच भयो भने त्यो माटो क्षारीय हुन्छ । क्षारीयलाई नुनिलो भनिन्छ र ७ भन्दा तल पीएच स्केल भएको माटो अम्लीय हुन्छ अर्थात् अमिलो हुन्छ ।


बिरुवालाई खाद्यतत्व राम्रोसँग उपलब्ध हुनसक्ने वा राम्रोसँग उपलब्ध हुने माटोको पीएच ६ देखि ८ सम्मको हुने गर्दछ । यस्तो माटो बिरुवाले राम्रोसँग मन पराउँछ । यस्तो माटोमा बिरुवाले खाद्यतत्व घुलनशीलरूपले लिने गर्दछ किनकि यो पीएच भएको माटोमा खाद्यतत्व राम्रोसँग घुल्छ । बिरुवाले जतिपनि राखिएका मलहरु राम्रोसँग लिन पाउँछ । त्योभन्दा तलमाथि भएको अवस्थामा मलहरु राम्रोसँग घुलाउन सक्ने अवस्था हुँदैन । बिरुवाले खाद्य तत्व प्राप्त गर्ने वातावरण भन्दापनि अर्को अवस्थामा परिवर्तन हुन्छ र माटोमा मल हुँदाहुँदै पनि बिरुवाले लिन सक्दैन । यसो भन्नुको अर्थ माटोको खुकुलोपन एवं त्यसमा हावाहरू छिर्ने कार्य हुन सक्दैन । अन्ततः बिरुवालाई अवरोध पु¥याउँछ र बिरुवाहरू राम्रोसँग फस्टाउन सक्दैन । त्यसले बाली उत्पादनमा असर पर्दछ ।

किसानले माटो अम्लीय भयो र बाली उब्जनी हुन छोड्यो भनेर कसरी थाहा पाउने ?

अनुभवी किसानले बालीबिरुवा हेरेरै थाहा पाउँदछन् । बिरुवाले नबोले पनि त्यस्तै किसिमको प्रतिक्रिया दिने उनीहरुलाई पहिलेको अनुभवले थाहा हुन्छ । पानी चाहिएको छ भने घाममा ओइलाउने गर्दछ । यदि समस्या छ र अवस्था गम्भीर छ भने बिहान/बेलुका पनि ओइलाउन सक्दछ । त्यो भएपछि बिरुवालाई पानीको मात्रा कम भएछ भनेर बुझ्नुपर्दछ । बिरुवाहरू टुप्पोमा वा फेदमा पहेँले हुने, किनारामा फरकपन पर्ने, बिरुवाको रंगमा नै परिवर्तन हुने, लगाायत विषयलाई मुल्याङ्कन गरेर अनुभवी किसानले बताउन सक्दछन् । बिरुवाको लक्षण हेरेर नै कतिपयले यो कम भयो भनेर भन्न सक्दछन् । अथवा उनीहरुले विज्ञहरुलाई बोलाएर बालीमा भएको लक्षणबारे बताएर के गर्ने सुझाव लिन सक्दछन् । त्यसपछि माटोमा भएको कमी, बाली उत्पादनमा भएको कमीबारे विज्ञहरुसँग सल्लाह लिने गर्दछन् । योसँगै माटो जाँच गर्नुपर्दछ । त्यसपछि कुन–कुन चिज कति मात्रामा रहेछ भनेर पत्ता लाग्दछ । बिरुवालाई चाहिने र माटोलाई चाहिने खाद्यतत्व त्यसपछि थप्न सकिनेछ ।

अम्लीयपन घटाउन के गर्ने ?

यसका लागि रासायनिक चिजहरू घटाउने, रासायनिक मलको मात्रा घटाउने एवं प्राङ्गारिक मलको मात्रा बढाउने, कम्पोस्ट मलमा बढी जोड दिने काम गर्नुपर्दछ । हरियो मल, ढैँचाको प्रयोग बढाएर माटोमा सुधार ल्याउन सकिन्छ । माटो जाँच गरिसके पछाडि बिरुवालाई चाहिने पीएच कति हो थाहा पाइनेछ । त्यसपछि नाइट्रोजन, फोस्फोरस, पोटास जस्ता आवश्यक तत्वलाई सहीरूपले प्रयोग गर्नुपर्दछ । यो बिरुवाको लागि अति आवश्यक छ । ती मलहरूको सन्तुलित मात्रामा प्रयोग गर्ने, धेरै सघनता बाली लगाउने गर्नुपर्दछ । सूक्ष्म खाद्य तत्वहरू, माइक्रोन्यूट्रेनको मात्रा हिसाब गरेर राखेर खेती गरिएमा किसानहरुले सोचे अनुसार उत्पादनमा वृद्धि हुनेछ ।

बुझ्नुपर्ने कुरा के छ भने किसानहरूले बाली जति धेरै लगायो त्यति उत्पादनमा ह्रास आउँछ भन्ने गरिन्छ तर त्यो होइन । हामी प्राबिधिककाअनुसार बाली जति धेरै लगायो माटो त्यति राम्रो बन्दछ । बाली उत्पादन पनि धेरै हुन्छ किनकि त्यहाँ प्रत्येक पटक बाली लगाउँदा सिफारिस मात्रामा मल हाल्ने गरिन्छ । त्यसको आवश्यक हेरचाह गर्ने गरिन्छ । राम्रोसँग त्यसको हेरचाह गर्ने कारण खाद्यतत्व मिलेर माटोको गुणस्तर पनि एकदमै राम्रो हुँदै गएको हुन्छ । हामी भन्छौं, ‘माटोमा जति दिन सक्यो त्यति लिन सकिन्छ ।’ हामी दिनलाई कन्जुस गर्छौं लिनलाई बढी खोज्छौं । धेरै उत्पादन हुने बाली लगाउँदा पनि उति नै मल हाल्दछौँ र अन्य अवस्थामा पनि मल हाल्ने अनुपात एउटै हुन्छ । धेरै फल्नेले अलि बढी मल खान्छ थोरै फाल्नेले कम मल खान्छ । मात्रा एउटै राखेर धेरै उत्पादन खोज्ने किसानहरुले आफूले चाहेको उत्पादन लिन सक्दैनन् । किसानले पनि आफ्नो बानीमा सुधार गरेर र कन्जुस्याँइपन हटाएर विज्ञहरूको सल्लाहबमोजिम बालीबिरुवा के कस्तो भइरहेको छ र कति मल हाल्दा हरियोपन कति देखाउनुपर्ने हो जस्ता विषयबारे जानकारी लिनुपर्दछ । कति मल हाल्दा कति बढ्नुपर्ने हो, कति दह्रो वा कति मोटाई हुनुपर्ने हो ? त्यो अनुसार छ कि छैन भनेर काम गरिएमा धेरै उत्पादन लिएर किसानहरू पनि खुसी हुनेछन् ।

अब माटो खराब हुँदैछ भन्ने थाहा पाएपछि गाउँ गाउँका किसान कहाँ जाने ?

यो एकदमै महत्वपूर्ण प्रश्न हो । सबैभन्दा पहिले आफूले गर्ने खेतीबारे निश्चित भइसके पछाडि कुन समयमा गर्दा राम्रो हुन्छ भनेर थाहा पाउनु पर्दछ । जुन सिजनमा राम्रो हुन्छ त्यो सिजनमा बाली लगाउने गर्नुपर्दछ । आफूले गर्ने खेतीबारे के–के राख्नुपर्छ भनेर थाहा पाउनुपर्दछ । त्योभन्दा पहिले माटो जाँच गर्नुपर्दछ । वर्षमा एकचोटि माटो जाँचेर त्यही अनुसारको मलखादहरू प्रयोग गर्नुपर्दछ । यो बिरुवालाई यति खाद्यतत्व राख्नुपर्छ भनेर विज्ञहरुले सिफारिस गरिदिनेछन् । अब माटो जाँच गर्ने सम्बन्धमा कुरा गर्दा नेपाल सरकारको प्रत्येक नगरपालिका अथवा गाउँपालिकामा कृषि शाखा छ । त्यहाँ कृषिका कर्मचारीहरु हुनेछन् । त्यहाँ रहेका कृषिका कर्मचारीहरूकोमा गएर माटो जाँच गर्न सकिन्छ । आफ्नो समस्या देखाएर कतिपयले स्थानीय स्तरमै भएका ल्याबहरूमा जाँच्न सक्दछन् । यदि त्यस्तो छैन भने पालिकाहरुले शिविरहरू नै सञ्चालन गरेर माटो जाँच गर्ने अथवा त्यो माटोहरूलाई उहाँहरुले प्रयोगशालामा पठाएर रिपोर्टहरू किसानलाई उपलब्ध गराइदिने गर्न सक्दछन् ।

अर्काे प्रत्येक प्रदेशमा एक/एकवटा माटो जाँच प्रयोगशाला रहेको छ । अहिले सातवटा प्रदेशमा सातवटा प्रयोगशाला छ । थप झापाको सुरुङ्गामा अर्को केन्द्रीय कृषि प्रयोगशाला छ । हरिहर भवनमा माटो जाँच हुने गर्दछ । अर्को निजी प्रयोगशालाहरू पनि छन् त्यहाँ गएर माटो जाँच्न सकिनेछ । त्यही माटो जाँचको सिफारिसको आधारमा माटो स्वस्थताको प्रमाणपत्र प्राप्त गर्न सकिनेछ । आफ्नो अवस्थाअनुसार आफूले कुन बाली लगाउने भनेर बाली लगाउन सकिएमा उत्पादनमा वृद्धि हुनेछ र किसानहरू सन्तुष्ट हुनेछन्।

Health Tips Ad Road Block