काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने कार्यक्रम रहेको छ । भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् । त्यसक्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ र विभिन्न महत्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुने सकेत बताइएको छ ।
भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तक्रिया गर्ने पनि कार्यक्रम छ ।
यता भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्कीको ईस्तान्बुल प्रस्थान गरेका छन् । ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ मा भाग लिन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । जुन २७ देखि २९ सम्म आयोजना हुने समारोहमा भाग लिन मन्त्री दाहाल ईस्तान्बुल गएका हुन् । समारोहमा मन्त्री दाहालले जुन २७ का दिन भूपरिवेष्ठितबाट भुजडीत प्रयासमार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरहरुका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।
मन्त्री दाहाल ३० जुनमा नेपाल फर्कने कार्यतालिका रहेको छ ।






















