ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

देशभर आधारभुत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकारी निकाय सक्रिय, आर्थिक भार घटाउन सकिने दाबी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । देशभर आधारभुत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाको जोड दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले आयोजना गरेको आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चितताबारेको अन्तक्रियामा यसबारे तल्लो तहसम्म बुझाउनुपर्ने आवश्यकता औंल्याइएको हो ।

कार्यक्रममा उपचारात्मक सेवा महाशाखाकी निर्देशक डा. सुधा देवकोटाले आधारभुत स्वास्थ्य सेवालाई देशैभर लागु गर्नसके सरकारलाई आर्थिक भार कम पर्ने दाबी गरिन् । आगामी आर्थिक वर्षका लागि देशैभरका पालिकामा जाने बजेटमध्ये सक्षम स्थानीय तहको बजेट केही कम गरिएको र कमजोर स्थानीय तहलाई बजेट बढाइएको सो अवसरमा उनले जानकारी दिइन् । आधारभुत स्वास्थ्यबारे जानकारी दिँदै देवकोटाले केन्द्र, प्रदेश र स्थानीय पालिकासँगको समन्वयमा आधारभुत स्वास्थ्य सेवालाई प्रभावकारीरुपमा लागु गर्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन शाखा उपचारात्मक सेवा महाशाखाका शाखा प्रमुख डा.फणिन्द्र प्रसाद बरालले आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा कानुनी व्यवस्था तथा वर्तमान अवस्थाबारे जानकारी दिएका थिए । बरालले जनतालाई ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध हुने प्रष्ट पार्दै विभिन्न ९ प्रकारका आधारभुत सेवा जनताले पाउने बताए । खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन, पोषण सेवा, गर्भवती, प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, गर्भपतन तथा प्रजनन स्वास्थ्य जस्ता मातृ, नवजात शिशु तथा बालस्वास्थ्य सेवा, सरुवा रोग सम्बन्धी सेवा, नसर्ने रोग तथा शारीरिक विकलाङ्गता सम्बन्धी सेवा, मानसिक रोग सम्बन्धी सेवा, जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी सेवा, सामान्य आकस्मिक अवस्थाका सेवा, स्वास्थ्य प्रवद्र्धन सेवा र आयुर्वेद तथा अन्य परम्परागत स्वास्थ्य सेवा आधारभुत स्वास्थ्य सेवाबाट उपलब्ध हुने उनले बताए । आफूले पाउने सेवाबारे सबै नागरिक सुसूचित हुनु आवश्यक रहेको उनको भनाइ थियो । प्रस्तुतीकरण दिँदै डा. बरालले स्तरीय उपचार पद्धतीमा उल्लेख भए बमोजिम ९८ प्रकारका औषधि तथा १८ प्रकारका औषधिजन्य सामग्री आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निशुल्क रुपमा वितरण गरिने उल्लेख गरे ।

महाशाखाले निःशुल्करुपमा उपलब्ध हुने औषधिहरु प्रत्येक आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने संस्थाहरुमा बडापत्रमार्फत राख्न लगाउने तयारी गरिन लागेको बताएको छ ।

कार्यक्रम संयोजक कमलेश मिश्रले आधारभूत तथा आकस्मिक सेवा पहुँचको विषयमा जनचेतना अभिवृद्धि गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रममा सहजीकरण गर्दै भोगेन्द्र राज डोटेलले स्वास्थ्य सेवा पहुँच र गुणस्तर सुधारबारे जानकारी दिएका थिए ।

जनस्वास्थ्य सेवा ऐन २०७५परिच्छेद–१ को दफा–२ मा आधारभूत स्वास्थ्य सेवा भन्नाले दफा ३ को उपदफा (४) बमोजिम आम नागरिकको स्वास्थ्य आवश्यकता पूर्तिका लागि राज्यबाट सुलभरूपमा निःशुल्क उपलब्ध हुने प्रवर्द्धनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक र पुनर्स्थापनात्मक सेवा सम्झनु पर्दछ भनेर भनिएको छ ।

Health Tips Ad Road Block