काठमाडौं । काठमाडौं उपत्यकाभित्र बस सेवा संचालन गर्दै आईरहेको महानगर यातायात प्रालि सुरुवातदेखि नै नक्कली महानगर यातायातबाट हैरानी खेप्न बाध्य भएको छ । आफ्नो हैरानी व्यक्त गर्न सक्कली महानगरले पत्रकार सम्मेलन गरेरै आफ्ना भनाइ सार्वजनिक गर्नुपरेको छ । सार्वजनिक यातायातलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले यातायात व्यवसायीहरुको पहलमा २०७२ साल फागुनमा महानगर यातायात प्रालिको सेवा सुरु गरेको भएपनि सोही यातायात प्रालिकै नाम, रंग, डिजाइन नक्कल गरेर सोही प्रकारका बसहरु सोही रुटमा चलिरहेको र यसले उपभोक्ता र व्यवसायी दुवैलाई मर्का परिरहेको भन्दै कम्पनीले आपत्ति जनाएको छ । कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले यसबारे सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै कारवाही नहुनु दुःखद भएको र यसलाई नहटाए आफूहरु क्षतिपूर्ति मागसहित कानुनी कारवाहीमा जाने चेतावनी दिएका छन् ।
नियम अनुसार आवश्यक प्रक्रिया पूरा गरेर सरकारी निकायमा दर्ता भइ गरिएको व्यवसायमा सोही प्रकारको नाम र कामको नक्कल अर्काे कम्पनीले गर्न नपाउने उनको जिकिर छ । पत्रकार सम्मेलनमा महानगरले केही समयमै नयाँ इभी बसहरु संचालनमा ल्याउने तयारी गरेको र सेवा सुधार गर्दै जाने प्रतिबद्धता पनि जनाएको छ । सवारी व्यवसायमा सुधार र यात्रुहरूलाई गुणस्तरीय सेवा पुर्याउने उद्देश्यले महानगर यातायातले आफ्नो सवारी साधनहरूमा कार्यरत कर्मचारी, सञ्चालक, चालक तथा सहचालकहरूलाई जिम्मेवार र अनुशासित भएर सेवा प्रवाह गर्न आग्रहसमेत गरेको छ । उपत्यकाबाहिर पनि सेवा विस्तार गर्ने योजना महानगरले सुनाएको छ ।
यस्तो छ महानगरको विज्ञप्ति
सार्वजनिक यातायातलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले यातायात व्यवसायीहरुको पहलमा २०७२ साल फागुनमा महानगर यातायात प्रालिको सेवा सुरु गरिएको हो । हामीले तत्कालीन समयमा संचालनमा रहेका अन्य सार्वजनिक यातायातभन्दा आधुनिक, यात्रुमैत्री र ठूला बसहरुमार्फत सेवा सुरु गरेका थियौं । अरुभन्दा फरक देखियोस् र यात्रुहरुले सजिलै चिन्न सकुन् भनेर हामीले आफ्नै रंग र डिजाइनमा सेवा सुरु गरेका हौं । हाल काठमाडौंका विभिन्न रुटहरुमा हाम्रा ८९ बसले यात्रुहरुलाई सेवा दिइरहेका छन् र यो संख्या बढाउँदै लैजाने तयारी भइरहेको छ ।
तर बिडम्बना, महानगर यातायात प्रालि कै नाम, रंग र डिजाइन समेत नक्कल गरि सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरि सोही रुटमा चलिरहँदा हामी संचालक मात्रै होइन यात्रुहरुले समेत विविध समस्या झेलिरहेका छन् । यसबारे पटक–पटक सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँदा पनि कुनै कारवाही भएको छैन ।
नियमअनुसार सम्बन्धित निकायमा दर्ता गराइ आवश्यक प्रक्रिया पुर्याएर गरिएको व्यवसायमा सोही काम र नामको अर्को कम्पनी संचालन गर्ने अनुमति सम्वन्धित निकायले दिँदैन । तर विद्यमान नियम कानूनको धज्जी उडाउँदै महानगर यातायात संचालनको सुरुवाती दिनबाटै निर्वादरुपमा नक्कली महानगर यातायात सोही रुटमा संचालन भइरहेको छ ।
महानगर यातायातप्रति यात्रुहरुको अपार माया र विश्वास छ, त्यसैले यात्रुहरु कुरेरै भए पनि राता बसहरु चढ्ने गर्छन् । तर उही रंग र नामको बसले उनीहरुलाई झुक्याउने गरेको छ । विडम्बना यति सम्म छ कि, यात्रुहरुले बसमा आफ्नो महत्वपूर्ण कागजात भएको झोला छुटाउँछन्, छुटेको झोला लिन महानगर यातयातको सम्पर्कमा आउँदा उनीहरुले यात्रा गरेको बस नक्कली महानगर भएको थाहा हुन्छ र सामान फेला पर्न पनि सक्दैन ।
नक्कली महानगर यातायातले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरुले प्रहरीमा खबर गर्छन् र महानगर यातायातको कार्यालयसम्म पनि आइपुग्छन् । कतिपय अवस्थामा अनुसन्धानपछि यथार्थ पत्ता लाग्छ तर धेरै जसो केसमा त्यसरी दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा महानगर यातायात प्रालिले अनावश्यक झन्झट ब्यहोर्नु परिरहेको छ र कयौं पटक त केही बसहरुको नियमित सेवा समेत रोकिने गरेको छ । त्यसबापत यात्रुहरुले पाएको दुख र कम्पनीलाई भएको आर्थिक घाटाको त कुनै लेखाजोखा नै छैन ।
बसभित्रै आपराधिक गतिविधि भएका घटनाहरु पनि पटक–पटक सार्वजनिक भएका छन् । नक्कली महानगर यातायातको बसभित्र चोरी, पाकेटमारी र बलात्कारका घटना समेत भएका छन् । त्यस्ता घटना हुँदा महानगर यातायातकै नाम आउने र प्रतिष्ठामा पुग्ने गरेको क्षति अपुरणीय छ ।
समस्या सुरु भएसँगै समाधानको लागि हामीले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छौं । प्रहरी प्रशासन, यातायात कार्यालय, यातायात विभाग लगायतका निकायमा निवेदन नै दिएर कारवाहीको लागि अनुरोध पनि धेरै पटक गरिसक्यौं । तर समस्या समाधानको लागि कुनै पहल नै हुन सकेन । यातायात विभागले चार वर्ष अघि केही त्यस्ता नक्कली गाडीहरु समातेर सचेत गराए पनि त्यो औपचारिकतामै सिमित बनिरहेको छ ।
नौ बर्ष अघि एकै पटक ३९ वटा ठूला सिटी बसहरु संचालनमा ल्याउनु सहज थिएन । एकातिर यातायात ब्यवसायीहरु समस्यामा थिए अर्कोतिर व्यवसायीलाई हेर्ने आम धारणा सकारात्मक थिएन । सेवा संचालनको सुरुवाती दिनहरुमै चौतर्फी आक्रमण र असहयोगको बाबजुद पनि महानगर यातायात यात्रुहरुको सेवामा समर्पित मात्रै भइरहेन, यातायात क्षेत्रका कतिपय विकृति र यसप्रतिका नकारात्मक सोचहरु चिर्न समेत सफल भयो । महानगर यातायात आज नीजि क्षेत्रबाट संचालित सफल यातयात मात्रै बनेको छैन, हाम्रै काम र सेवा हेरेर अन्य यातायात पनि व्यवस्थित बनिरहेको देख्दा हामी सार्वजनिक यातायातको क्षेत्रमा कोसेढुंगा बन्यौं भन्ने लाग्छ । यति हुँदा हुँदै पनि सहजरुपमा सेवा संचालन गर्न नपाउनु दुभाग्यपूर्ण बनिरहेको छ ।
राजधानी काठमाडौंमा सार्वजनिक यातायातको ब्यवस्थित अभ्यास गरिरहेको र निकट भविष्यमै पब्लिक लिमिटेड कम्पनीको रुपमा आम जनतामाझ आफ्नो शेयर जारी गर्ने तयारी गरिरहेको महानगर यातायात प्रालिले झेलिरहेको यो समस्या हाम्रो आफ्नो समस्या मात्रै नभएर लाखौं यात्रुहरुको सेवा र सुरक्षासँग पनि जोडिएको विषय हो ।
महानगर यातायात प्रालिले हालसम्म त्यस्ता नक्कली महानगर यातायात तथा मिल्दो जुल्दो नाम, हुबहु रंग र डिजाईन राखी सवारी साधन संचालन गर्ने व्यवसायीहरुप्रति नरम रुपमा प्रस्तुत हुँदै आएको भएपनि अब उप्रान्त पनि यस कम्पनीको नाम र रंगको डिजाइन आफ्ना सवारी साधनबाट नहटाएमा क्षतीपूर्तीको मागसहित जस्तो सुकै कानूनी कारवाही गर्न पछि पर्दैनौं । आम यात्रु मात्रै नभएर देशको सार्वजनिक यातायातको छवीसँग जोडिएको यो गम्भीर समस्या समाधानका लागि सहयोग गरिदिनुहुन सबैसँग अपिल गर्दछु ।






















