काठमाडौं । आजदेखि मलेखु–मुग्लिङ्ग खण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । पृथ्वी राजमार्गको मलेखु मुग्लिङ्ग खण्डमा निर्माणाधीन बार्बाङ्ग खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसि बिम राख ठूलो साइजको क्रेन प्रयोग गर्नको लागि सडकखण्ड बन्द हुन लागेको हो ।
आज रातिदेखि असार ७ गतेसम्म राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म आंशिकरुपमा यातायातका सवारीसाधनहरु (अत्यावश्यक सवारी बाहेक) रोक्नुपर्ने अवस्था आएको सूचना प्रकाशित गरिएको छ । यस अवधिमा भारी तथा हलुका सवारीसाधनहरु रोकिने भएको हो ।
मुग्लिङ्गतर्फबाट मलेखु छिर्ने सवारी साधनहरु भारी सवारी साधनहरु मुग्लीनमा र हलुका सवारी साधनहरु कुरिनटार तथा मलेखुतर्फबाट मुग्लिङ्ग छिर्ने सवारी साधनहरु भारी सवारी साधनहरु मलेखुमा र हलुका सवारी साधनहरु शितलबजार रोकिने सूचना रहेको छ ।
ती रोकिएका सबै सवारी साधनहरुलाइ बिहान ३ बजेपछि मात्र छोडिने र रोकिएको समयमा सवारीसाधन रोक्दा एवं सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न अनुरोध गरिएको छ । एम्बुलेन्स र सुरक्षानिकायका सवारीसाधनहरु निर्वादरुपमा संचालन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।























