काठमाडौं । पूर्वी नेपालको प्रतिष्ठित आतिथ्य सत्कार उद्योगप्रति समर्पित कोशी प्रदेशको इटहरी, नेपालमा अवस्थित पाँचतारे स्तरको लक्जरी होटेल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले आफ्नो प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन गरी नेपालको पूँजी बजारमा प्रवेश गर्ने प्रक्रियागत कार्यसम्पादनका कम्पनीले एनआईएमबी एस क्यापिटल लिमिटेडसँग ‘रोडम्याप टु आईपीओ’ सम्बन्धी रणनीतिक सहकार्य तथा परामर्शका लागि सम्झौतामा हस्ताक्षर गरेको छ । होटल गरिमाले यस रोडम्याप सेवा सम्झौतामा हस्ताक्षरसँगै सार्वजनिक सूचीकृत कम्पनीप्रतिको यात्राको सुभारम्भ गरेको स्पष्ट पारेको छ ।
कम्पनीले काठमाडौंमा एक कायृक्रम गरी रोडम्याप टु आईपीओ सम्झौतामा हस्ताक्षर सम्पन्न गरेको हो । सम्झौता पत्रमा होटल गरिमा लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक विनोद पौडेल र एनआईएमबी एस क्यापिटलका तर्फबाट डेपुटी सीईओ सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअनुसार एनआईएमबी एस क्यापिटल लिमिटेडले आईपीओ सम्बन्धीत विषयमा कर्पोरेट सल्लाहकारको भूमिकामा रही होटल गरिमा लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रियाको तयारी, नियामक निकायहरूसँगको समन्वय तथा संस्थागत व्यवस्थापन परिपालनासम्बन्धी कम्पनीको कार्य सुदृढीकरणमा आवश्यक परामर्श र सहयोग प्रदान गर्नेछ ।
हस्ताक्षरपछि उक्त कार्यक्रममा होटल गरिमा लिमिटेडका प्रबन्ध निर्देशक पौडेलले भने, ‘यो सम्झौता होटल गरिमा लिमिटेडको पूँजी बजार प्रवेशका लागि अत्यन्तै महत्वपूर्ण रहेको छ र यो कम्पनीको विकासका लागि कोसेढुंगा सावित हुनेछ ।’ उनले पारदर्शिता, व्यावसायिक उत्कृष्टता र लगानी विस्तारमार्फत आतिथ्य सत्कार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । त्यस्तै यो सहकार्यले कम्पनीलाई नेपालको पूँजी बजारमा सूचीकृत हुने यात्रामा एक महत्वपूर्ण योगदान दिनेछ, उनले भने ।

त्यसैगरी एनआईएमबी एस क्यापिटल लिमिटेडका डेपुटी सीईओ ढुंगानाले होटल गरिमा लिमिटेडको आईपीओ यात्रामा आवश्यक सम्पूर्ण प्राविधिक मार्गदर्शन तथा रणनीतिक सल्लाह उपलब्ध गराउँदै निरन्तर सल्लाह सहयोग र विशेषज्ञता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी दिनहरुमा यो सहकार्य सफलतापूर्वक अघि बढ्ने अपेक्षा व्यक्त गरे ।
होटल गरिमा लिमिटेडको तर्फबाट आईपीओ प्रक्रिया प्रारम्भ गर्नु कम्पनीको दिगो विकास, संस्थागत पारदर्शिता तथा आम लगानीकर्तालाई आतिथ्य क्षेत्रमा आकर्षित गर्ने दृष्टिकोण अनुरूपको महत्वपूर्ण कदमको रूपमा लिइएको छ ।
होटल गरिमा लिमिटेडको यो प्रयासबाट विकास, कम्पनीको पारदर्शिताका साथै नेपालको आतिथ्य उद्योग तथा पर्यटन विकास विशेष गरी कोशी प्रदेशमा लगानी अवसरहरूको विस्तारमा प्रतिबद्धता प्रतिबिम्बित गर्ने कम्पनीको विश्वास रहेको छ ।





















