ललितपुर । राइड सेयरिङ कम्पनी इनड्राइभले ललितपुरको कुपन्डोलमा आफ्नो आधिकारिक कार्यालय स्थापना गरेको छ । कम्पनीले एक कार्यक्रम गरी पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको समेतको उपसिथतिमा कार्यालयको उद्घाटन गरेको हो । चालकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न र उच्चस्तरीय सेवा प्रदानका लागि नियमित प्रशिक्षण लगायतका कार्यक्रमहरु कार्यालयबाट हुने उद्घाटनकाक्रममा जानकारी दिइएको थियो । आफूलाई केही समस्या भएका चालकहरुले कार्यालयबाट सहयोग लिनसक्ने पनि कार्यक्रममा जानकारी दिइयाे ।
कार्यक्रम उद्घाटनकाक्रममा पूर्वमन्त्री ज्वालाले राइड सेयरिङलाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्ने धारणा राखे । इनड्राइभलाई आफ्नो सेवा व्यवस्थित बनाउन उनले सुझाव दिए । त्यस्तै प्रयोगकर्ताका गुनासालाई सम्बोधन गर्दै सेवालाई भरपर्दाे बनाउन उनले सुझाए ।

इनड्राइभ एपिएसीका क्षेत्रीय निर्देशक मार्क टोलीले नेपालमा आफ्नो कार्यालय स्थापना गरिएकोमा खुसी व्यक्त गर्दै कार्यालयबाट चालकलाई प्रशिक्षण तथा राइडरहरूका सुरक्षा केन्द्रित सेवा प्रदान गरिने बताए । यता इनड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले स्थानीय चालकहरूसँग बलियो साझेदारी निर्माण गर्नु कम्पनीको प्राथमिकता रहेको धारणा राखिन् । इनड्राइभमार्फत चालक–केन्द्रित, पारदर्शी र समुदाय आधारित सेवा प्रदान गरिने प्रतिबद्धता उनले जनाइन् । कम्पनीले सम्मानजनक व्यवहारसँगै सुरक्षित यात्राको प्रतिबद्धता दोहोर्याएको छ ।






















