काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक दार्चुला पावर लिमिटेडले दार्चुला जिल्लाको मार्मा गाउँपालिका–२ मा निर्माण गरिरहेको २८.३ मेगावाट क्षमताको मध्य–चमेलिया जलविद्युत् आयोजनामा लगानी व्यवस्थापन भएको छ । नेपाल बैंक लिमिटेडको अगुवाइमा नबिल बैंक लिमिटेडको सह–वित्तीयकरणमा आयोजनामा लगानीको टुंगो लागेको हो ।
प्रवद्र्धक दार्चुला पावर लिमिटेडले पाँच अर्ब ६६ करोडको लागतमा निर्माण सम्पन्न गर्न लागेको आयोजनाका लागि काठमाडौंमा एक कार्यक्रमकाबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काको उपस्थितिमा आयोजनामा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा दार्चुला पावर लिमिटेडका अध्यक्ष सञ्जिव न्यौपाने र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले हस्ताक्षर गरेका छन् ।
आयोजनामा नेपाल बैंक लिमिटेड र नबिल बैंकको ७५ प्रतिशत अर्थात् ४२४.५ करोड ऋण लगानी हुनेछ । आयोजनामा नेपाल बैंकले २२४.५ करोड र नबिल बैंकले २०० करोड लगानी गर्ने छ । दार्चुला पावर लिमिटेडको २५ प्रतिशत स्वपुँजी रहेको छ ।
बुधबार आयोजित वित्तीय व्यवस्थापन समारोहमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बजेटमा राखिएको ‘टेक एण्ड पे’ को विषयलाई लिएर लगानी नगर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । “बजेटमा ‘टेक एण्ड पे’ को शब्दले प्रवेश पाएपछि वित्तीय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिनुभएको होला, नआत्तिकन लगानी गर्नुहोस्, उक्त प्रस्ताव उर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,” मन्त्री खड्काले भनेका छन् ।
उर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । “उत्पादन गर्नुपर्ने स्रोत हामीसँग छ, बजार हामीसँग छ, लगानी किन नगर्ने ?,” उनले भने । उनले छिमेकी मुलुक भारतसँगै नेपालले पहिलोपटक भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेशलाई ४० मेगावाट विद्युत निर्यात थालनी गरेको भन्दै आगामी दिनमा यसलाई झन् बढाउन सकिने बताए । भारतसँग छलफल गरेर बङ्गलादेशको प्रसारण लाईनपनि विस्तार गर्नेगरी सरकार लागिरहेको उनको भनाई थियो । उर्जामन्त्री खड्काले निजी क्षेत्रलाई सँगै साथमा लिएर हिँड्नेगरी आगामी एक महिनाभित्र विद्युत ऐन ल्याउने तयारीका साथ सरकारले काम गरिरहेको बताएका छन् ।
कार्यक्रममा अपि पावर कम्पनीका सञ्चालक गुरु न्यौपानेले देशमा लगानीको वातावरण नभएकोमा चिन्ता व्यक्त गर्दै सरकार र नेताहरुको ध्यानाकर्षण गराए । उनले २५ हजार नेपालीहरु बैंककाे कालोसूचिमा रहेकोप्रति चिन्ता व्यक्त गर्दै बैंकहरुले व्यवसाय गर्न सिकाउनुपर्ने र डोर्याउनुपर्ने बताए । साना किसान लगायत स्थानीयहरुलाई सहयोग गर्न आफू तयार रहेको भन्दै सञ्चालक न्यौपानेले काम गर्न वातावरण बनाइदिन आग्रह गरे । सञ्चालक न्यौपानेले दार्चुलामा उत्पादित बिजुली भारतमा बेच्न दार्चुलाबाटै प्रसारणलाइन बनाउन सरकारलाई आग्रह गर्नुका साथै पहलकदमी लिइदिन नेताहरुलाई पनि अनुरोध गरेका छन् ।
मार्मा गाउँपालिका–२ लाम्बगडमा बाँधस्थल रहने आयोजनाको साढे सात किलोमिटर तल मार्मा गाउँपालिका–३ नलबगडमा विद्युत्गृह निर्माण हुनेछ । बाँधस्थलबाट ३.३३ डायमिटरको एमएस (माइल्ड स्टिल) पाइपलाइनद्वारा विद्युत्गृहसम्म पानी पुर्याइनेछ । मध्यचमेलियामा पानीको प्रवाह प्रतिसेकेन्ड २५.१७ घनमिटर हुनेछ र नेटहेड (उचाइ) १२८.४६ मिटर रहनेछ । आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल बलाच सबस्टेसनमा जोडिनेछ । यस आयोजनाबाट वार्षिक १८५.६२ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।
करिब २४ महिना अर्थात् २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ गत फागुनबाट आयोजनाका विभिन्न कामहरु अगाडि बढेका थिए । यसअनुसार २०८३ सम्ममा आयोजनाको निर्माण सम्पन्न गरिनेछ । गत वर्ष निर्माण सम्पन्न भएको अपर चमेलिया जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा आधा किलोमिटर तल मध्यचमेलियाको बाँध बन्नेछ ।
दार्चुला पावर लिमिटेडका अध्यक्ष सञ्जिव न्यौपानेले भने डेढ वर्षमै काम सक्ने लक्ष्यका साथ काम भइरहेको कार्यक्रममा जानकारी दिए ।






















