काठमाडौं । आजदेखि देशभर अनिश्चितकालिन यातायात बन्दको घोषणा गरिएको छ । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको हो ।
समितिले देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरेको बताएका छन् ।
गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग उनीहरुले गरेका छन् । यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरेको समितिको प्रष्टोक्ति छ ।

यसैबीच संघर्ष समितिले बैठक बसेर भनेको छ, ‘हाम्रो आन्दोलन जारी छ । यातायात ब्यवसायी मित्रहरू र मजदुर साथीहरू हामी यसै बारेमा गहन छलफलमा छौं । सधैं अरूको माग पुरा गर्न आन्दोलनमा सहभागी भयौं र हाम्रा सवारी साधन तोडफोड र दहन गरियो । यसपटक हाम्रो आफ्नै माग पूरा गर्न संयमित भयर सवारी साधन घर, ग्यारेजमा राखिदिन हुन सबैमा हार्दिक अनुरोध गर्दछौं। नेपाल सरकार सम्माननीय प्रधानमन्त्रीज्यू र सबन्धित माननीय मन्त्रीज्यूहरू र प्रदेश मुख्यमन्त्रीज्यूहरूलाई सात दिन आगाडिदेखि ज्ञापनपत्रमार्फत र पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदा समेत महत्व नदिएकोले यसबाट पर्न जाने सम्पूर्ण प्रभावको जीम्मेवारी नेपाल सरकारले नै लिनुपर्दछ र यसबाट पर्न जाने असरको लागि संयुक्त संघर्ष समिति क्षमा प्रार्थी छ।’























