काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले धुम्रपान र सुर्तीजन्य पदार्थको लत छोड्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा शुभारम्भ गरेको छ । धुम्रपान र सुर्तीजन्य पदार्थको लत छोड्न चाहनेका लागि शनिबारदेखि ११३२ मा फोन गरेर परामर्श लिन सकिनेछ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘हेल्पलाइन’ सेवाको शुभारम्भ गरेका हुन् । यो सेवाले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन र नियन्त्रणमा सकारात्मक योगदान पुर्याउने सरकारी विश्वास रहेको छ ।
सेवा शुभारम्भ गराउँदै मन्त्री पौडेलले भने, ‘हेल्पलाइनबाट प्राप्त परामर्शले सुर्तीजन्य पदार्थ नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएका छौँ। सुर्तीजन्य पदार्थ नियन्त्रण, न्यूनीकरण र जनचेतना फैलाउने काममा केही उपलब्धि हासिल गरेका छौँ। उत्पादन र आयात रोक्न सकिँदैन, तर उपभोक्ता घटाउनेतर्फ मन्त्रालय योजनाबद्ध काममा केन्द्रित छ ।’ पौडेलले सुर्तीजन्य पदार्थमा कर बढाउन र सेवनलाई निरुत्साहित गर्न सबै तह र तप्काले जनचेतना फैलाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटाले युवामा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग चिन्ताजनक भएको भन्दै पछिल्लो समय युवापुस्तामा बढेको भेपको लत नियन्त्रण गर्न मन्त्रालय योजनाबद्ध हिसाबले लागिपरेको बताएका छन् । यसका लागि सबै सरोकारवालाको समन्वय र सहकार्य चाहिने भन्दै सञ्चारमाध्यमले यसमा सहयोग गर्नुपर्नै बताए ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.टंकप्रसाद बराकोटीले कानूनको प्रभावकारी प्रयोग गर्ने हो भने धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगकर्ता घट्ने दाबी गरे । महानिर्देशक बराकोटीले युवाहरुमाझ अझै जनचेतना बढाउन आवश्यक रहेको धारणा राखे ।
हरेक वर्ष मे ३१ का दिन मनाइने विश्व सुर्तीजन्य पदार्थरहित दिवसको यस वर्षको नारा ‘सुर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौँ यो मोहजाल’ भन्ने रहेको छ । विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले दिवसको अवसरमा ७ जनालाई स्वास्थ्यमन्त्री ब्लूम्बर्ग पुरस्कारबाट पुरस्कृत गरेको थियो ।























