काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकला तथा ललितकला क्षेत्रमा गर्दै आएको अतुलनीय योगदानको कदर गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले महासंघलाई ललितकला प्रवर्द्धन सम्मानबाट सम्मानित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेबाट नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यलाई सम्मान प्रदान गरिएको हो । यो सम्मानबाट समस्त हस्तकला क्षेत्रले गौरवको अनुभूति गरेको छ ।
महासंघ हस्तकला उद्योग व्यवसाय, कलाकार र कालिगढहरुको प्रवर्द्धन तथा विकासको क्षेत्रमा ५ दशक भन्दा बढी समयदेखि क्रियाशील रहँदै आएको छ । हस्तकला क्षेत्रमा प्रत्यक्ष र परोक्ष गरि ११ लाख व्यक्तिहरु संलग्न रहेका छन् ।
देशभित्र हुने व्यापारिक कारेबार तथा भारत चीन लगायत तेश्रो मुलुकमा हुने निकासी समेत गरि यस क्षेत्र वार्षिक ४४ अर्बको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुऱ्याई रहेको छ ।
हस्तकलाको सीप हस्तान्तरण तथा पुस्तान्तरण र सीप विकास तथा सीप अभिवृद्धि जस्ता कार्यक्रमहरु महासंघले निरन्तर रुपमा संचालन गर्दै आईरहेको छ ।






















