काठमाडौं । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष एवं तत्कालिन सिईओ राजेन्द्रवीर राय पक्राउ परेका छन् । बचतकर्ताको २ अर्ब ५० करोड हिनामिना गरेको आरोपमा फरार उनी पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी जेठ १७ गते रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहियाबाट पक्राउ परेका थिए ।
प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, ‘कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत एवं पटक–पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त बैंकमा संकलन भएको बचत कर्ताहरुको २५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्र वीर रायलाई यस ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भईरहेको छ। ’
सल्यान जिल्ला घर भएका राय हाल बाँकेको नेपालगञ्ज महानगरपालिका वडा नं. २० मा बस्दै आएका थिए ।






















