काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७५ औं वर्षगाँठको अवसरमा ऐतिहासिक हीरक जयन्तीको लोगो सार्वजनिक गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित विशेष समारोहमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र सल्लाहकार परिषदका अध्यक्ष एवं हीरक जयन्ती मुल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका हुन् ।
मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको अवसरमा चेम्बरले वार्षिकरुपमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदैछ । हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि चेम्बरले सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मुल समारोह समिति गठन गरिसकेको छ । निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका बिभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गर्दैछ ।
वि.सं. २००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था हो । चेम्बर अभियान ७५ बर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्तीलाई भव्य बनाउने तयारी भएको सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् ।
चेम्बरका अध्यक्ष कमलेश अग्रवालले हिजो (जेठ १५ गते) १९ खर्ब ६४ अर्बको बजेट विनियोजन भएको विषयलाई नेपालको सुरुको बजेटसँग तुलना गर्दै चेम्बरकाे कामकाे स्मरण गरे । उनले स्मरण गर्दै भने, ‘नेपालको पहिलो बजेट वि.सं. २००८ सालमा ५ करोड २५ लाख २९ हजारको थियो । वि.सं २००८ सालको बजेटमा पनि चेम्बर अफ कमर्सले सुझाव प्रस्तुत गरेको थियो । अहिलेको यो बजेट १९ खर्ब ६४ अर्ब भएर यसरी बढ्नुमा नेपाल चेम्बर अफ कमर्सको पनि महत्वपूर्ण योगदान रहेको छ ।’
चेम्बरले नमुना काम गरेर हीरक जयन्तीलाई भव्यताका साथ मनाउने तयारी गरेको छ ।






















