काठमाडौं । सात प्रदेशमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याँकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशले सबैभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमानसम्बन्धी तथ्याङ्कअनुसार चालु आवमा गण्डकी प्रदेशले ५.५१ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको हो । त्यसपछि बागमती प्रदेशको ५.१८ प्रतिशत वृद्धिदर रहने अनुमान छ । कर्णाली प्रदेशको आर्थिक वृद्धिदरमा सुधार भएर चालु आवमा ४.७४ प्रतिशत पुग्ने अनुमान छ । लुम्बिनी प्रदेशको ४.७० प्रतिशत, मधेश प्रदेशको ४.५० प्रतिशत र कोशी प्रदेशको ३.३४ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ३.३२ प्रतिशत हुने अनुमान गरिएको छ ।
मुलुकको कुल अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब हुने अनुमान गरिएकामा बागमतीको मात्र ३६.५२ प्रतिशत योगदान रहने अनुमान छ । त्यसपछि कोशी प्रदेशको १५.९० प्रतिशत, लुम्बिनी प्रदेशको १४.२३ प्रतिशत, मधेश प्रदेशको १३.१६ प्रतिशत, गण्डकी प्रदेशको ८.९८ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ७.०३ प्रतिशत, कर्णाली प्रदेशको योगदान ४.१९ प्रतिशत हुने अनुमान छ ।






















