काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले आज (जेठ ६ गते) देखि साधारण शेयर आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ करोड ९ लाख १० हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ९ हजार १०१ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता शेयर अति प्रभावित क्षेत्रका (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५ मा स्थायी बसोबास गर्ने) बासिन्दाहरुमा बाँडफाँड गरिनेछ भने ५ लाख ४५ हजार ४६१ कित्ता शेयर प्रभावित क्षेत्र (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने) का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ। यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ५४ हजार ५५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिनेछ । कम्पनीले ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ। बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा जेठ २० गते हुनेछ भने ढिलोमा असार ४ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ २० गतेभित्र आवेदन दिनु पर्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले गरेको छ । स्थानीय बासिन्दाले आयोजना कार्यालय, प्रभु क्यापिटल, कमलादी, हिमालयन बैंकको धार्चे शाखा र प्रभु बैंकको आरुपात शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमा गई पनि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आईपीओमा आवेदन दिन सक्नेछन्।






















