skip this News Page Tips Ad Road Block

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुसहित सम्मिलित पूर्व योजनाकार मञ्च नेपाल गठन 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।
पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन । त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।”

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गरे । एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाइ थियो ।

उनले पूर्व योजनाकारहरुको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनाको कामना गरे ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको अध्यक्षतामा मञ्च गठन भएको हो । मञ्चको उपाध्यक्षमा डा.पोषराज पाण्डे, महासचिवमा मीनबहादुर शाही, कोषाध्यक्षमा सलोनी सिंह रहेका छन् । सदस्यहरुमा प्रा.डा. गोविन्दराज पोखरेल, डा.डिल्लीराज खनाल, प्रा.डा.गोविन्द नेपाल, प्रा.डा. गिताभक्त जोशी, डा.उषा झा, डा.दिलबहादुर गुरुङ र डा.अरविन्द्र मीश्र रहेका छन् । नेपालको समृद्धिका लागि मञ्चले सहयोग गर्ने अध्यक्ष कँडेलले बताएका छन् ।

Health Tips Ad Road Block