ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नेपालका ठूला पूर्वाधारमा लगानी गर्न एनआरएनएलाई उद्योग वाणिज्य महासंघको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालका ठूला पूर्वाधारमा लगानी गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको ठूला पूर्वाधारमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका हुन् ।

गैर–आवासीय नेपाली संघको आयोजनामा काठमाडौंमा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ अनर्तगत पोलिसिज एण्ड प्लेटफर्म क्रियटिङ इनेबलिङ एण्ड इन्भायरोन्मेन्ट फर डायस्पोरा इन्भेष्टमेन्ट विषयक कार्यक्रममा उनले सो आग्रह गरेका हुन् ।

विश्वभरि फैलिएको नेपाली डायस्पोरा विशेषज्ञता, नवीनता र वित्तीय पूँजीको आधार भएको उल्लेख गर्दै अध्यक्ष ढकालले एकजुट भएर नेपालका केही गर्न सुझाव दिए । “ एनआरएनए अलग अलग होईन एकजुट भएर जानु पर्दछ । नेपालीहरु जहाँपनि राजनीति गर्ने भन्ने सन्देश प्रवाह भएको छ । यो सकारात्मक होईन । यसलाई चिर्दै एकताबद्ध भएर अगाडि बढ्न आग्रह सहित शुभकामना दिन्छु । ” अध्यक्ष ढकालले भने ।

एनआरएनले उठाएका मुद्दाहरूमा महासंघले समर्थन गर्दै आएको चर्चा गर्दै उनले गैरआवासीय नेपालीलाई अधिकार मात्र नखोजेर देशप्रतिको कर्तव्यलाई पनि सम्झेर काम गर्न आग्रह गरे ।

“म विदेश यात्राका क्रममा डायस्पोराबाट कहिलेकाँही नकारात्मक टिप्पणी सुन्ने गरेको छु । अमेरिका, अष्ट्रेलिया, कोरियाको तुलनामा हाम्रो देशमा कम विकास भएको छ । तर हामीले केवल आलोचना मात्रै गर्ने कि नेपालको आर्थिक भविष्यको लागि साझा दृष्टिकोण बनाएर काम गर्न भन्ने हो । त्यसैले म एनआरएनएहरुसँगको अनुभव, पूँजी, सीप र प्रविधिलाई नेपालमा प्रयोग गरेर नेपाललाई पनि अरु देश जस्तै समृद्ध मुलुक बनाउन काम गर्न आग्रह गर्दछु । ”अध्यक्ष ढकालले भने ।

नेपालमा लगानी गर्न एनआरएन इन्भेस्टमेन्ट कम्पनी स्थापना भएपनि पछि एनआरएनए लगानीकर्ताको स्वामित्व परिवर्तन भएको र कम्पनीले प्रतिफल दिन नसकेको भन्दै उनले स्थापित कम्पनीलाई उद्देश्य अनुरुप अगाडि बढाउन सुझाव दिए । उनले नेपालको पूर्वाधार विकासका लागि उद्योग वाणिज्य महासंघको पहलमा १० अर्ब पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरि काम भइरहेको जानकारी दिँदै एनआरएनएहरुलाई पनि कम्पनीमा सहभागी हुन आह्वान गरे । अध्यक्ष ढकालले नेपालमा पर्याप्त सम्भावना रहेको चर्चा गर्दै त्यो सम्भावनालाई उजागर गर्ने यात्रामा संगसंगै हिँड्न एनआरएनएहरुलाई आग्रह गरे ।

Health Tips Ad Road Block