तनहुँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा मर्स्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर–५, तनहुँमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
साधारण सभामा ५६.१९ प्रतिशत शेयर सदस्यको उपस्थिति रहेको थियो । राष्ट्रिय स्तर कार्यक्षेत्र भई ४४ जिल्लामा कार्यक्रम विस्तार गरेको सम्पदा लघुवित्तको चुक्ता पुँजी ७० करोड ०८ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ ।
वित्तीय संस्थाको साधारण सभाले पारित गरेको वित्तीय विवरण अनुसार पुँजीकोष ८.१५, खराब कर्जा ४.८०, इपिएस १० रुपैंया ४८ पैसा, खुद नाफा ७ करोड ३४ लाख २१ हजार ९० रुपैयाँ रहेको सम्पदा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी दिएका छन् । वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा ९ अर्ब ६९ करोड ६५ लाख ७८ हजार ३ सय ४२ रुपैयाँ, निक्षेप २ अर्ब ५४ करोड ३२ लाख १३ हजार ५८ रुपैयाँ, वित्तीय संस्थाले विभिन्न बैंक तथा वित्तीय संस्थासँग ६ अर्ब ५६ करोड २८ लाख ५४ हजार ९ सय १३ रुपैयाँ ऋण लिएर लघुवित्त कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिरहेको छ ।
एक सय ५५ शाखा रहेको सम्पदा लघुवित्तमा १ लाख ७७ हजार ९ सय २ जना सदस्य रहेका छन् भने ७६ हजार ९ सय २० ऋणी रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले साधारण सभामा जानकारी गराए । साधारण सभामा सेयर सदस्यहरूले राखेको जिज्ञासाका बारेमा संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा तथा कम्पनी सचिव पवन कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले प्रष्ट पारेका थिए ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष, शेयर सदस्य, तथा पूर्व सञ्चालकहरुले सहकारीबारेआ–आफ्ना धारणा राखेका थिए ।
सो साधारण सभाबाट संस्थापक (प्रोमोटर डाइरेक्टर) मा अर्जुन कुमार सिंह, हरि प्रसाद डुम्रे, जिव मूर्ती पन्त, प्रदिप सिग्देल शर्मा निर्वाचित भएका छन् । यस्तै सर्वसाधारणका तर्फबाट भेष राज रोकाया र विनोद तमाङ्ग चयन भएका छन् ।
संस्थाको संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले आ.व. २०८१/२०८२ को लागि लेखा परिक्षकमा वि.पि. एसोशिएटस् एण्ड चार्डड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ भने अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्नको लागि नयाँ बनेको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरेको छ । साथै सञ्चालक समितिको बिसौं बैठकले प्रदिप सिग्देल शर्मालाई सर्वसहमत रुपमा कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको छ ।






















