Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विपद्बाट क्षतिग्रस्त रोशीमा विस्तृत क्षति आँकलन सुरुवात

Citizenlife ad 2082 falgun to baishak 2083

धुलिखेल । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आकलनको औपचारिक सुरुवात काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट बुधबार सुरु गरेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा रोशी गाउँपालिका– २ नारायणटारमा आयोजित कार्यक्रममा प्रभावित परिवारको लगत संकलन कार्यक्रम सम्पन्न निस्सा वितरण गर्दै गृहमन्त्री लेखकले नागरिकको निजी आवास पुनःनिर्माणको काम सुरु भएको बताए ।

गत असोजको दोस्रो सातामा गएको बाढीपहिरोले मुलुकका विभिन्न ठाउँमा क्षति पुर्याएकोमा अब त्यसको पुननिर्माण गर्ने काम द्रुत गतिमा सुरु भएको उनको भनाई छ । “ मनसुनजन्य विपद्बाट निजी घरहरुको क्षति भएको छ, हामी त्यसको पुनःनिर्माणको काम सुरु गर्दैछौं ।” उनले भने, “आजदेखि काभ्रे जिल्लाभरी क्षति भएको घरहरुको विस्तृत क्षति आँकलन गर्ने काम प्रारम्भ भएको छ ।”

सो क्रममा पूर्णरुपमा क्षति भएका घरको पुनःनिर्माण गर्ने र आंशिक रुपमा क्षति भएको घरको प्रवलीकरण (मर्मतसंभार पुननिर्माण) गर्ने कार्य प्रारम्भ गर्ने भनेर आफुहरु रोशी आइपुगेको लेखकको भनाई थियो ।
बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित भएको जिल्ला काभ्रेपलाञ्चोक र त्यसमा पनि रोशी गाउँपालिका बढी प्रभावित क्षेत्र भएकाले विस्तृत क्षतिको आंकलन यहीबाट सुरुवात गरेको गृहमन्त्री लेखकले बताए ।
“अब काभ्रेपलाञ्चोक जिल्लासंगै असोजमा भएको मनसुनजन्य विपद्बाट क्षति पुगेका अन्य जिल्लाहरुको क्षतिग्रस्त निजीहरु घरहरुको विस्तृत क्षतिको आकलन गर्ने कामको प्रारम्भव गर्ने भएको छ ।” उनले भने,“ बजेटको व्यवस्थापन, कानून, नीति निर्देशिकाहरु परिवर्तन गर्नुपर्ने र प्रारम्भिक क्षतिको विवरण भर्ने काममा ढिलाई भएको कारण विस्तृत क्षतिको आकलन गर्ने काममा ढिलाइ भएको हो ।”

उनले क्षतिको आँकलन सम्पन्न भएसँगै अब छिट्टै पुननिर्माणको काम समेत प्रारम्भ हुने उनले बताए । जसमा अस्थायी आवास निर्माण गर्न दुई चरणमा गरी रु. २५ हजारका दरले रकम उपलब्ध गराउने र स्थायी घर निर्माणका लागि प्रति घर रु. चार लाख रुपैयाँ उपलब्ध गराइने जानकारी दिए । अस्थायी घर निर्माणका लागि काभ्रेपलाञ्चोक जिल्लाको लागि सात करोड ३५ लाख रुपैयाँ रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बुधबार मात्रै रकम उपलब्ध गराईसकेको उनले जानकारी दिए ।

“अब सरकारबाट थालनी गरेको कामलाई ढिला नगरिकन तिव्रता दिनका लागि जनप्रतिनिधिहरुलाई आग्रह गर्छु ।” उनले भने,“ जसमा सबै तहका सरकार र सबै राजनीतिक दलहरु मिलेर अगाडी बढ्न आवश्यक पनि छ ।”

गृहमन्त्री लेखकले सडक र पुलहरुको पुननिर्माणको लागि सम्बन्धीत मन्त्रालयहरुसँग समन्वय गरी काम अगाडी बढाउने बताएका छन् । त्यस्तै क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणको काम अगाडी बढिसकेकोमा वर्षामा पनि आवातजावत गर्न यातायात अवरुद्ध नहुने गरी काम भईरहेको उल्लेख गरे ।

बाढीपहिरोबाट रोशी गाउँपालिकाको ५६३ निजीघरहरु क्षतिग्रस्त बनाएको गाउँपालिकाले जनाएको छ । क्षतिग्रस्त नागरिकको घर अस्थायी वा स्थायी निर्माण गर्नका लागि प्राधिकरणबाट रकम प्राप्त गर्न अनिवार्य रुपमा गाउँपालिका र प्राधिकरणबाट खटिएका प्राविधिकबाट विस्तृत क्षति आकलन गर्नुपर्ने प्रावधान रहेको छ । रोशी गाउँपालिकामा पालिका र प्राधिकरणबाट गरी १८ जना प्राविधिक जनशक्ति परिचालन भएको छ ।

Health Tips Ad Road Block