काठमाडौं । सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) ले आन्तरिक पर्यटन प्रवद्र्धनमा निरन्तर लागिरहने उद्घोष गरेको छ । नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रको उच्च महत्व रहेको भन्दै सोट्टो नेपालले उक्त उद्घोष गरेको हो ।
शनिबार काठमाडौंको चोभारमा वनभोज कार्यक्रम एवं पर्यटन प्रवद्र्धनका क्रियाकलापछि प्रतिक्रिया दिँदै सोट्टोका अध्यक्ष भुवन पाण्डेले नेपालको आन्तरिक पर्यटनमा विगतदेखि नै सक्रिय कार्य गर्दै आएको सोट्टो नेपाल अझै सक्रिय बन्ने बताए । पर्यटन बजारमा देखिएका विकृतिहरु निराकरणका लागि आवाज उठाइरहने भन्दै उनले देशका उत्कृष्ट गन्तव्यहरुको उजागर गर्नुपर्ने आवश्यकता औंल्याए ।
पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले धेरैभन्दा धेरै काम गर्नुपर्ने पाण्डेको भनाइ छ । उनले भने, ‘पर्यटन प्रवद्र्धन एवं आन्तरिक पर्यटन प्रवद्र्धनका लागि गठन भएको नेपाल पर्यटन बोर्ड यसमा एग्रेसिभ भएर लाग्नैपर्दछ । लुकेका तर महत्वमा रहेको गन्तव्यको उजागर हुनैपर्दछ ।’
पर्यटन क्षेत्रलाई तल पार्ने कुनैपनि गतिबिधि व्यवसायीलाई मान्य नहुने पनि सोट्टो नेपालले जनाएको छ । त्यसैगरी सोट्टोले पर्यटक आगमनमा कमी आउने कुनै पनि निर्णय नलिन र यसअघिका सोही प्रकृतिका निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
२ सय हाराहारीमा पर्यटन व्यवसायी एवं सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा विभिन्न नृत्यसहित रचनात्मक प्रतिभा प्रस्तुत गर्नेहरुलाई नगदसहित सम्मान गर्दै प्रतिभाहरुको उजागर गर्न पनि आफूहरु सक्रिय भएर लाग्ने संस्थाको भनाइ रहेको छ ।
























