skip this News Page Tips Ad Road Block

चेम्बर अफ कमर्स ७५ औँ वर्षमा प्रवेश, २००७ सालदेखि नै वाणिज्य क्षेत्र र आर्थिक विकासमा अग्रणीः मल्ल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स ७५ औँ वर्षमा प्रवेश गरेको छ। चेम्बर ७५औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक समृद्धि तथा अन्य व्यवसायिक गतिविधिका क्षेत्रमा अग्रणी एवम् महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।

उनले भनेका छन्, ‘आज हामी ७५ औँ वर्षमा प्रवेश गरेका छौँ । यो अवसरमा हामी खुसी छौँ । नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको स्थायित्वको लागि चेम्बर सधैं साथमा रहेको छ ।’

उनका अनुसार नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामीलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ ।

अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्सको स्थापना वि.सं.२००७ साल असोज २७ गते भएको थियो । नेपाल चेम्बर प्रजातन्त्र आएसँगै स्थापित भएको हो।

वि.सं. २०१२ अर्थात् सन् १९५५ मा उद्योग र वाणिज्यसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्बरको अगुवाइमा भएको थियो ।

निवर्तमान अध्यक्ष मल्लले नेपाल चेम्बर अफ कमर्स ‘चेम्बर आन्दोलन’ लाई अभियानको रूपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्न समर्पित भएर लागि रहेको दाबी गरेका छन् ।

चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको उनले बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्विपक्षीय वाणिज्य तथा उद्योग संघहरूको प्रतिनिधित्व गरेको छ ।

देशमा रजिष्टर्ड फर्महरु, व्यापार र उद्योग क्षेत्रका संघ संस्था, द्धिपक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आवद्ध रहेको चेम्बरले जनाएको छ ।

नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरूसँग आर्थिक क्रियाकलाप विस्तार गर्न समझदारीपत्रमार्फत सम्बन्ध स्थापित गरेको छ ।

देशभरका उद्योगी तथा व्यवसायीहरूको सहभागिता भएको नेपाल चेम्बर अफ कमर्सको विधान मन्त्रिपरिषद्बाट २०७४ सालमा संशोधन भएको थियो भने तदनुरूप नेपालको संघीय प्रणाली बमोजिम नेपाल चेम्बरलाई महासंघको संरचनामा प्रदेश, जिल्ला, नगर तथा गाउँपालिका तह र वस्तुगत संघ, आबद्ध संघ तथा राष्ट्रिय संघ संस्थाहरूसम्म सदस्यहरू विस्तार गरिएको छ ।

हाल ७ वटा प्रदेशका ६८ वटा जिल्ला चेम्बर गठन भइसकेको निवर्तमान अध्यक्ष मल्लले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block