तेह्रथुम । कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा भएको छ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमकाबीच पर्यटन वर्षको घोषणा गरेका हुन् ।
पर्यटन वर्ष घोषणा गर्दै उपप्रधानमन्त्री सिंहले भने, ‘कोशी प्रदेश छिमेकी देश भारत र चीनसँग जोडिएको प्रदेश हो । विश्वकै अग्लो सगरमाथादेखि होचो कचनाकवलसम्म पर्ने यो प्रदेश हेर्न लायकको प्रदेश हो । तपाईँहरुले पर्यटन वर्ष मनाउँदा प्रदेशको साँस्कृतिक विविधिता झल्काउने, साहसिक खेलकूदका गतिविधि गर्न लाग्नुभएको छ । नेपालको मात्र नभई विश्वकै लागि साहसी खेलकूदका खेलाडी र यसमा चासो राख्नेका लागि महत्वपूर्ण थलो हुने विश्वास लिएको छु ।’
उनले पर्यटन वर्षमा पर्यटनमा आधारित भएर हुने गतिविधिले कोशी प्रदेशको मात्र होइन देशकै अर्थतन्त्रमा आएको शिथिलता चलायमान बनाउन पर्याप्त मात्रमा टेवा पुर्याउने र योगदान गर्ने विश्वास लिएको बताए । २८ प्रकारको लालिगुराँस एकै ठाउँमा पाइने स्थलसम्म त्यहाँ रहेको भन्दै त्यसको प्रचारप्रसार गर्न सके पर्यटकका लागि आकर्षण बन्न सक्ने उनको भनाइ थियो । ‘आफूसँग भएको साधन स्रोतलाई परिचालन गरेर अझ राम्रो गर्न पर्यटन वर्ष प्रारम्भ गर्नुभएको छ । मलाई विश्वास छ,तपाईंहरुको प्रयासले सफलता चुम्नेछ । कोशी प्रदेशले प्रारम्भ गरेको पर्यटन वर्ष अरु प्रदेशका लागि पनि नमूनाका रुपमा रहनेछ । अरु प्रदेशलाई पनि पर्यटनका गतिविधि गर्न मार्गदर्शन गर्नेछ । ’
सो अवसरमा उपप्रधानमन्त्री सिंहले पर्यटकीय क्षेत्रमा सडकलगायतका पूर्वाधार निर्माणमा सरकारले ध्यान दिने पनि बताए ।





















