skip this News Page Tips Ad Road Block

नेपालको चेम्बर र सीएनआई एवं थाइल्याण्डका उद्योगीबीच लगानी प्रवद्र्धन र पर्यटनमा सहकार्य गर्ने समझदारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ(सीएनआई)का बीच नेपालमा लगानी प्रवद्र्धन, उद्यम, व्यापार एवं पर्यटनमा सहकार्य गर्ने समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणका क्रममा चेम्बर र सीएनआईकाबीच छुट्टाछुट्टै समझदारी भएको हो ।

दुई पक्षबीच भएको समझदारी अन्तर्गत नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाईल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाईल्याण्डका प्रधानमन्त्री पेईतोङत्रान सिनावात्राको उपस्थितिमा बैंककमा भएको समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाईल्याण्डका अध्यक्ष चाई अरुनानोनडिचाईले हस्ताक्षर गरेका छन् ।

दईमुलुकबीच पर्यटन प्रवद्र्धन, नागरिक उड्डयन एवं नेपालको विभिन्न क्षेत्रमा सास्कृतिक प्रवद्र्धनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल र थाईल्याण्डका पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रर्वद्धन गर्दै संयुक्त रुपमा बजार प्रर्वद्धनात्मक अभियान, नागरिक उड्डयनको क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृतिको आदानप्रदान, व्यापार एवं लगानी प्रर्वद्धन एवं क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने गरी समझदारी भएको हो । यसका लागि संयुक्त कार्यदल गठन गर्ने विषयमा समेत सहमति भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकीय गतिविधि बढाउन सो सम्झौता महत्वपूर्ण भएको अध्यक्ष अग्रवालले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा र मानार्थ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्वन्ध समितिका सभापति अर्जुन प्रसाद शर्मा सहभागी छन् ।

यता नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितिमा थाइल्याण्डको बैंककमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरेका छन् ।

लगानी तथा व्यापार प्रवद्र्धनसँगै आर्थिक तथा व्यापारसम्बन्धी अध्ययन/अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदानप्रदानलगायतमा सहकार्य गर्नेगरी दुई संस्थाबीच समझदारी भएको हो ।

विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्याण्डको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसंघका अध्यक्ष अग्रवालले गरे । लगानी प्रवद्र्धन गर्न सहयोग गर्नेगरी सरकारले कानुनहरुमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिन सक्ने उनले बताए ।

परिसंघले बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकका बीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने भएकाले विदेशी लगानीकर्तालाई लगानीका लागि परिसंघले आह्वान गर्दै आएको छ ।

दुई संस्थाबीच भएको समझदारीपत्र हस्ताक्षर समारोहमा थाइल्याण्ड भ्रमणमा रहेका नेपाली प्रतिनिधिहरु सहभागी थिए ।

Health Tips Ad Road Block