कास्की । नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १३ औँ बैठक पोखरामा सम्पन्न भएको छ । दुई दिन सञ्चालन भएर शनिबार सम्पन्न बैठकमा दुई देशको आपसी हितको प्रवद्र्धन गर्ने सीमापार अपराध नियन्त्रण, लागुऔषध, मानव बेचविखन, अवैद्य व्यापार, अवैद्य मुद्रा, चोरी निकासी लगायत अपराधिक क्रियाकलाप नियन्त्रणसम्बन्धी सहमति भएको गृह मन्त्रालयले जनाएको छ ।
नेपालका तर्फबाट सहसचिव एवं गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी र भारतका तर्फबाट भारतीय गृहमन्त्रालयका सहसचिव निहिर कुमारको नेतृत्वमा बैठक सम्पन्न भएको हो । बैठकबारले बताउँदै प्रवक्ता तिवारीले उक्त जानकारी दिएका हुन् ।
दुई दिन चलेको बैठकमा विपद् व्यवस्थापनको पक्षमा दुवै देशबीच सहकार्य गर्ने, सीमा क्षेत्र आसपासमा भइरहेको पूर्वाधार निर्माणमा देखिएका विवादलाई दुई पक्ष समझदारीमा अन्त्य गर्ने, सीमा स्तम्भको नियमित मर्मत सम्भार रेखदेख गर्ने, आतंकवाद नियन्त्रणका लागि सूचनाको आदानप्रदान गर्ने, सीमा क्षेत्रबाट हुुने प्रतिबन्धित औषधिको निकासी पैठारीमा रोक लगाउने, विषादीजन्य फलफूल तथा तरकारीको गुणस्तर जाँच गर्ने र जनस्वास्थ्यमा देखिएको असरलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल भएको छ ।
बैठकमा भारतीय गृह मन्त्रालयका सहसचिव कुमारले भारत र नेपालको सम्बन्धलाई जनस्तरमा पुर्याउन मन्त्रालयस्तरमा भएको यस्ता बैठकले थप मद्दत पुग्ने बताए । उनले १४ औँ बैठक भारतमा गर्नका निम्ति निमन्त्रणा समेत दिएका छन् ।
बैठकमा नेपालका नापी, भन्सार, अद्यागमनका महानिर्देशक, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान लगायतका उच्च प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो भने भारततर्फबाट पनि सोही बमोजिमका व्क्तिहरुको सहभागिता रहेको थियो ।





















