काठमाडों । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदका लागि संक्षिप्त सूचीमा परेका पाँच जनाले आफ्नो व्यावसायिक कायायोजना प्रस्तुत गरेका छन् । सर्ट लिष्टमा परेका पाँचै जनाले आज व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका हुन् ।
सूचीमा परेका ५ जनालाई आज बिहान ७ बजे अन्तर्वार्ता र व्यावसायिक कार्य योजनाको प्रतुतीकरणका लागि नेप्सेको सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित समितिले बोलाएको थियो । सोहीअनुरुप सबैले आफ्नो व्यावसायिक कार्य योजना प्रस्तुत गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
समितिले भने बमोजिम आफ्नो नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवको पुष्टि गर्ने सक्कल कागज एवम् प्रमाणहरू लिई आवेदकहरु उपस्थित भएका थिए ।
नेप्सेको सीईओका लागि चुडामणि चापागाइँ, नारद कुमार लुईँटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम संक्षिप्त सूचीमा परेको थियो ।
प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि गत फागुन १२ गतेदेखि १८ गतेसम्म आवेदन खुल्ला गरेकोमा १० जनाको आवेदन परेको र पाँच जनाको नाम संक्षिप्त सूचिमा परेको थियो ।






















