ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

तामाकोशी पाँचौंमा तनावः कामकाज ठप्प पार्दै चरणबद्ध आन्दोलनमा उत्रिए श्रमिकहरू

Citizenlife ad 2082 falgun to baishak 2083

दोलखा । दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका श्रमिकहरू कामकाज ठप्प पारेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेक्का लिएको ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ ले नेपालको श्रम कानुन पालना नगरेको भन्दै श्रमिकहरू कामकाज नै ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । ठेकेदार कम्पनीमाथि दबाब सृजना गर्ने उद्देश्यले उनीहरूले आज आयोजनास्थलबाट १६ किलोमिटर टाढा रहेको स्थानीय मुकाम सिंगटी बजारदेखि गोंगरसम्म र्‍याली आयोजना गरेका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार ठेकेदार कम्पनीको साइट मुख्य कार्यालय र शाखा कार्यालयमा आजदेखि हरेक दिन एक घण्टा विरोध सभा र शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने भएका छन् । यस्तै श्रमिकहरूको जायज मागहरू ठेकेदार व्यवस्थापनले पूरा नगरेसम्म आयोजनाको अडिट–१ र २ लगायत स्थानहरूको सम्पूर्ण काम ठप्प पार्ने उनीहरूको योजना छ ।

सिनो हाइड्रोले आफ्नो कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको माग सम्बोधन नगरेपछि बुधबार (फागुन २८) देखि सम्पूर्ण कामकाज ठप्प पारिएको त्यहाँ कार्यरत श्रमिक जीवन मगरले जानकारी दिएका छन् । उनका अनुसार यसअघि नेपाली श्रमिकहरूले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान अनुसार आफूहरूलाई रोजगार सम्झौतापत्र दिनुपर्नेलगायत विभिन्न १३ बुँदे माग सिनो हाइड्रोसमक्ष राखेका थिए ।

उक्त मागका सम्बन्धमा श्रमिक र कम्पनीबीच यही फागुन १६ गते सहमति भएको थियो । स्थानीय जनप्रतिनिधि र आयोजनाका पदाधिकारीहरूको रोहवरमा भएको सो सहमति कार्यान्वयन गर्न कम्पनीले उदासिनता देखाएपछि कामकाज ठप्प पार्न बाध्य भएको उनको भनाइ छ ।

‘एक हप्ताभित्र सबै नेपाली श्रमिकहरूलाई रोजगार सम्झौताको पत्र उपलब्ध गराउनुपर्ने सहमति हामीसँग भएको थियो । तोकिएको समयमा कम्पनीले सो काम नगरेपछि हामीले फागुन १९ गते कम्पनी व्यवस्थापलाई पुनः ध्यानाकर्षण गराएका थियौँ । त्यसपछि पनि अहिलेसम्म कुनै काम भएको छैन,’ अर्का कामदार मदन कुमार श्रेष्ठले भने, ‘हामीसँग भएको सहमति कार्यान्वयन नहुँदासम्म कामकाज ठप्प पार्ने हामी सबै नेपाली श्रमिकको निर्णय भएको छ । त्यसै अनुसार अघि बढ्छौँ ।’

उनीहरूले यसअघि रोजगार सम्झौता वा नियुक्तिपत्र उपलब्ध गराउनुपर्ने, सेवासुविधा, उपदान, दुर्घटना बीमा, चिकित्सा बीमा, सञ्चय कोष, चाडपर्व खर्च, वार्षिक तलव वृद्धिरग्रेड तथा सार्वजनिक, साप्ताहिक, प्रतिस्थापन, घर, बिरामी र सुत्केरीलगायत विदाको बारेमा स्पष्टता खोजेका थिए । त्यस्तै, काम गर्ने घण्टा, ओभरटाइम सुविधा, निर्माण मजदुरको समस्या, स्वास्थ्य र सुरक्षा तथा कार्य विवरणको बारेमा पनि स्पष्ट बन्नरबनाउन कम्पनीसमक्ष लिखित आग्रह गरेका थिए ।

नेपालको श्रम कानुन अनुसार श्रमिकले पाउनुपर्ने सेवासुविधालाई समेटेर ठेकेदार कम्पनीसमक्ष १३ बुँदे मागपत्र बुझाएको तर अहिलेसम्म कुनै पनि विषयको सम्बोधन नभएको उनीहरूको भनाइ छ । हाल तामाकोशी पाँचौंमा करिब पाँच सय जना श्रमिक कार्यरत छन् । त्यसमध्ये ४०० जना नेपाली मात्रै छन् ।

Health Tips Ad Road Block