काठमाडौं । विगत ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई जना नेपालीहरूको उद्धार भएको छ । नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पाको उद्धार भएको हो । उनीहरु दलालको फन्दामा गरी गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थिए । उनीहरूलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएको गैरआवासीय नेपाली संघ(एनआरएनए) ले जनाएकाे छ।
गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरु टर्किस्ट एयरलाइन्सको फलाइट नम्बर TK274 मार्फत माल्दोवाबाट उडेर शुक्रबार दिउँसो काठमाडौं आउँदै रहेको गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्रि केसीले जानकारी दिएका छन् । उनीहरूको उद्धारको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती र नियोग उपप्रमुख शागर फुयाँल लगायत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई अध्यक्ष केसीले धन्यवाद दिएका छन् ।
त्यसैगरी ती दुई नेपालीको उद्धारको लागि गैरआवासीय नेपाली संघको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने आइसीसी सदस्य चिरन शर्मा र संघको केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, सचिवालयका कर्मचारी र सम्वद्ध सबैलाई पनि डा. केसीले धन्यवाद दिएका छन् ।






















