काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएनए) चिकित्सकले नेपालमा बिरामीको उपचार गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले पहिलोपटक उनीहरूलाई नेपालमा चिकित्सा अभ्यास गर्न लाइसेन्स दिने निर्णय गरेको हो ।
हाल मेडिकल काउन्सिलमा तीन जना गैरआवासीय चिकित्सकले नेपालमा चिकित्सा अभ्यास गर्न निवेदन दिएका छन् । नेपाल मेडिकल काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा.सतीशकुमार देवले तीमध्ये एक जनालाई तत्काल लाइसेन्स दिइने बताए । अमेरिका–नेपाल मेडिकल फाउन्डेसनका पूर्वअध्यक्ष डा.भूपेश खड्का पहिलोपटक गैरआवासीय चिकित्सकको लाइसेन्स पाउनेमा पर्ने भएका छन् ।
अन्य दुई जनाको निवेदन मात्र आएको तर लाइसेन्सका लागि आवश्यक कागजात र शुल्क नतिरेकाले हाललाई लाइसेन्स दिन नसकिएको उनले बताए । उनले गैरआवासीय चिकित्सकलाई लाइसेन्स दिन छुट्टै कार्यविधिसमेत बनाइएको जानकारी दिए । हाल अमेरिकामा मात्र तीन हजार नेपाली चिकित्सक कार्यरत छन् । काउन्सिलका रजिस्ट्रार डा. देवले शुक्रबार बसेको काउन्सिलको बैठकले यस्तो निर्णय गरेको जानकारी दिँदै खड्काले एक वर्षका लागि लाइसेन्स पाउने बताए ।
उनका अनुसार पाँच वर्षका लागि लाइसेन्स दिन सकिने प्रावधान रहे पनि प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने बताए । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले गैरआवासीय चिकित्सकले लाइसेन्स पाएपछि विदेशमा सिकेको सिप नेपालमा प्रस्तुत गर्दा नेपालीलाई सहज हुने बताए । उनले यसले नेपालको चिकित्सा क्षेत्रमा ठुलो फड्को मार्ने बताउँदै लाइसेन्स प्राप्त चिकित्सकले बढीमा दुई संस्थामा मात्र काम गर्न पाउने बताए ।






















