काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष सुमित्रादेवी न्यौपानेको अध्यक्षतामा होटल क्रिष्ट्रल पशुपति, गौशालामा आज साधारण सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८०/०८१ को वासलत तथा नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरि पारित गरेको छ । त्यसैगरी सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसहित अन्य सबै प्रस्तावमाथि छलफल गरि त्यसलाई पारित गरेको छ ।
कम्पनीले संचालन गरिरहेको ९.७ मेगावाट क्षमताको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य परियोजना हो । २०८० साल असार महिनामा आएको बाढी तथा पहिरोको कारण अवरुद्ध यस आयोजना मर्मत संभार गरि २०८० साल चैत २८ गतेबाट सत्तचालनमा आई विद्युत उत्पादन भइरहरेको छ । पाँचथर जिल्लाको हिलियाङ गाँउपालिकामा अवस्थित नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनमा जोडी परियोजनाले व्यवसायिकरुपमा विद्यूत उत्पादन गरिरहेको छ ।
ईङवा हाईड्रोपावर लिमिटेडले व्यवसाय विस्तार गर्ने योजना अनुरुप कम्पनीको संचालनमा रहेको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको विद्युतगृहबाट करिव ५०० मिटर डाउनस्ट्रीम तर्फ सा्ेही खोलाको पानी उपयोग गरी ८ मेगावाट क्षमताको तल्लो ईङवा खोला जलविद्युत आयोजनामा बहुमत शेयर लगानी गरी निर्माण गर्ने योजना कम्पनीको रहेको छ । कम्पनीले विकास गरिरहेको यस आयोजनाको नेपाल सरकार विद्युत विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी सम्भाव्यता अध्ययन सम्पन्न गरेर हाल नेपाल विद्युत प्राधिकरण समक्ष विद्युत खरिद बिक्री सम्झौताका लागि निवेदन दिएको छ । ईङवा हाईड्रोपावर लिमिटेडले नयाँ आयोजनाहरु निर्माण गर्ने लक्ष्य लिएर काम गरिरहेको जनाएको छ ।





















