काठमाडौं । युवतीहरुलाई डिपेन्डेन्ट भिसामा कोरिया लगायत देशमा लान्छु भन्दै फेसबुक र ह्वाट्स एपबाट २१ लाख ठगी भएको खुलासा भएको छ । डिपेन्डेन्ट भिसामा युवतीहरूलाई कोरिया लगायतका देशमा लैजान्छु भनी ठगी गर्ने रामेछापका होम बहादुर मगर हुन् । रामेछाप दोरम्बा गाउँपालिका–६ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–८ बस्ने ३५ वर्षीय साजन मगर भन्ने होम बहादुर मगरलाई गत बिहीबार प्रहरीले पक्राउ गरेपछि यो तथ्य खुलेको हो ।
प्रहरीले दिएको जानकारीअनुसार मगरले सामाजिक सञ्जाल फेसबुक र ह्वाट्स एपका माध्यमबाट साथी बनी कोरिया लगायतका देशमा डिपेन्डेन्ट भिसामा लैजाने भन्दै विश्वास तथा प्रलोभनमा पारी २ जना पीडितहरूलाई २१ लाख रूपैयाँ रकम जम्मा गर्न लगाए पश्चात सम्पर्कबिहीन भए ।
यसरी ठगी गर्ने कार्यमा संलग्न मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३ बाँसबारीबाट पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।






















