ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

काठमाडौंका १८ स्थानमा वायु प्रदूषण मापन यन्त्र जडान गर्दै महानगर, स्वस्थ्य शहरको परिकल्पना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वायु प्रदूषण मापनका लागि काठमाडौं महानगरपालिकाभित्रका १८ ठाउँमा यन्त्र जडान गरिने भएको छ । यसको मंगलबार(आज) सुरुवात गरएको छ । उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन काठमाडौं प्लाजाको सडकतर्फको खण्डमा उपकरण जडान शुभारम्भ गरेकी हुन् ।

आजै वडा नं. १७ का अध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले छत्रपाटी निःशुल्क चिकित्सालयमा र वडा नं. २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौरमा उपकरण शुभारम्भ गरेका छन् ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पार्टनरसिप फर हेल्दी सिटिजसँगको सहकार्यमा महानगरपालिका क्षेत्रभर वायु गुणस्तर निगरानी गर्न उपकरणहरू जडान गरेको हो । हेल्दी सिटिज (स्वस्थ्य शहर) गैर संक्रामक रोग र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७० वटा शहरहरूको विश्वव्यापी सञ्जाल हो । यो सञ्जालको महानगरपालिका सदस्य हो । विश्व स्वस्थ्य संगठन र विश्वव्यापी स्वास्थ्य संगठनको महत्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिजको सहयोग परियोजना सञ्चालन भइरहेको छ ।

उपकरण शुभारम्भपछि बोल्दै उपप्रमुख डंगोलले, महानगरपालिकाले आन्तरिक कार्यक्रम र साझेदारसँगको सहकार्यबाट प्रदूषण न्यूनीकरणका लागि काम गरिरहेको बताइन् । ‘गरिरहेका कार्यक्रमहरुको प्रभावकारिता मापन गर्न र थप तथा सुधारका कार्यक्रम गर्न तथ्यमा आधारित प्रमाण आवश्यक पर्छ । वायु प्रदूषण मापन यन्त्रले यसप्रकारका तथ्य उपलब्ध गराउँछ ।’

‘प्रदूषणबाट आर्थिक, सामाजिक, वातावरणीय तथा विकास क्षेत्रमा पारेको असर घटाएर स्वस्थ्य सहर निर्माण गर्न धुलोरहित महानगर कार्यक्रम कार्यान्वयनमा छ । पार्क तथा हरियाली प्रवर्धन आयोजना सञ्चालन गरिएको छ । खुला रुपमा आगो बाल्न निषेध गरिएको छ । हाँडीगाउँमा कार फ्रि शनिबारको कार्यक्रम सञ्चालन गरिएको छ । फोहरलाई स्रोतमा वर्गीकरण अभ्यासलाई प्रवर्धन गरिएको छ । वातावरणीय शिक्षाका लागि विद्यालयस्तरीय वातावरण र बालबालिका कार्यक्रम सञ्चालन गरिएको छ ।’ उनले भनिन्, ‘साझेदारिताबाट उपलब्धिलाई संस्थागत गर्दै जान सहयोग हुनेछ ।’

प्रवक्ता मानन्धरले छत्रपाटी चिकित्सालयमा बोल्दै समुदायमा आधारित कार्यक्रमबाट नतिजालाई दिगो बनाउन सकिने बताए । यस्तै वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले लैनचौरमा बोल्दै मापन यन्त्रले दिने तथ्याङ्कले व्यक्तिलाई सचेत रहन सहयोग पुग्ने अपेक्षा गरे ।

कहाँ–कहाँ हुँदैछ मापन यन्त्र जडान ?

यी ठाउँसँगै कलंकी चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा यन्त्र जडान हुनेछ । यस्तै चक्रपथको ठूलो भ¥याङ्, बौद्ध, रत्नराज्य माध्यमिक बिद्यालय, मध्य बानेश्वर, टेकु ट्रान्सफर स्टेशन, वडा नंं २७ कार्यालय, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिल, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालय, जडीबुटी, वडा नं. ५ कार्यालय, नरःदे, वडा नं. २३ कार्यालय ओमवहाल, वडा नंं १ को सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, नक्साल र वडा नं. ३१ कार्यालय परिसरमा यन्त्र जडान हुनेछ ।

महानगरपालिकाले पुस महिनालाई ‘वायु प्रदुषण सचेतना’ महिनाका रुपमा कार्यक्रम सञ्चालन गर्दैछ । वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले भनिन्, ‘सवारी साधनको प्रदुषण जाँचका लागि तयारी गरिरहेका छौँ ।’

परियोजना प्रमुख इञ्जिनियर सञ्जीव पाण्डेका अनुसार क्ल्यारिटी नोड–एस वायु गुणस्तर सेन्सरहरूले तत्काल अवस्थामा हावामा भएका पिएम २.५ को विवरण उपलब्ध गराउँछन् । यी उपकरणहरू सौर्य ऊर्जाबाट चल्छन् । यसबाट उत्पादन भएका तथ्याङ्कहरु उही समयमा महानगरपालिकाको ड्यास बोर्डमा पठाउँछन् । उपकरणले प्रदान गरेका तथ्याङ्कलाई वेव पोर्टल र मोवाइल एप्लिकेसनका माध्यमबाट सर्वसाधारणको पहुँचमा पु¥याउने योजना छ ।

‘मापन उपकरण राख्दा वायुमा धेरै धुलाका कण हुन सक्ने ठाउँलाई छानिएको छ ।’ पाण्डेले जानकारी दिए । विश्व स्वास्थ्य संगठन नेपालका राष्ट्रिय कार्यक्रम अधिकृत राजाराम श्रेष्ठले वायु प्रदूषणलाई मृत्युको अदृश्य कारणका रुपमा चित्रित गर्दै यसको रुप विश्वव्यापी रुपमा फैलिएको कोविड १९ को महामारीभन्दा भयानक भएको उल्लेख गरे ।

पिएम २.५ भनेको वायुमण्डलमा पाइने साना कणहरू हुन् । यी कणहरु सजिलै फोक्सोमा पुग्न सक्छन् । रक्त प्रवाहमा मिसिन सक्छन् । यसैकारण श्वासप्रश्वास, हृदय रोगसहित विभिन्न दीर्घ रोग उत्पन्न गराउँछ । विश्व स्वास्थ्य संगठनले पिएम २.५ को वार्षिक औसत ५ माइक्रोग्राम प्रति घनमिटर हुनुपर्ने भनेको छ ।

Health Tips Ad Road Block