झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले ले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका अभियान संचालन गर्ने बताए । उनले जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने जनाए ।
“देश बनाउन हामी सबै एकताबद्द हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेमा देश बन्दैन ।” प्रधानमन्त्री ओलीले भने, “हामी विभिन्न पार्टीका हुन सक्छौं तर विकास निर्माणका काममा एक हुनुपर्छ । तपाईहरुको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईहरुको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।”
कुल ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा न २,३ र ४ का छ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३जनसंख्या लाभान्वित हुनेछन् ।






















