काठमाडौं । असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण ११ अर्ब ८२ करोड रुपैयाँ बराबरको बीमा दाबी भएको छ । नेपाल बीमा प्राधिकरणले दिएको जानकारी अनुसार कार्तिकसम्ममा ६१ करोड ७ लाख ९३ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । बीमा दाबी गर्दै ३ हजार चार सय १८ वटा निवेदन परेका छन् । यसमा सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन् । दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९, युनाइटेड अजोडमा तीन सय २३, सानिमा जिआइसीमा दुई सय १७, आइजिआई प्रुडेन्सियलमा दुई सय ९६ दाबी परेका छन् ।
त्यसैगरी नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा एक सय ७२, नेपाल इन्स्योरेन्समा एक सय ७६, प्रभु इन्स्योरेन्समा एक सय ३७, राष्ट्रिय बीमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चाररचार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन् । कूल दाबीमध्ये नौ सय दुई वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
कूल एक हजार छ सय ५३ वटा सम्पत्ति बीमा दाबी गरिएकामा तीन सय ९८ वटाको भुक्तानी भएको छ । कूल सम्पत्ति बीमा दाबी आठ अर्ब ७५ करोड ८७ लाख ५१ हजार दुई सय ३४ भएकामा ४६ करोड ७० लाख ९७ हजार सात सय ८० रुपैयाँ मात्रै भुक्तानी भएको छ । इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ तीन सय चार वटा दाबी परेका छन् । विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । अधिकांश ऊर्जा उत्पादक केन्द्रले बीमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरुले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएका छन् । दाबी भएकामध्ये ३८ वटाको तीन करोड ११ लाख २८ हजार पाँच सय ५५ मात्रै भुक्तानी भएको छ ।






















