काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था खल्ती प्रालिबीच “स्मार्ट क्यूआर”मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापश्चात खल्ती डिजिटल वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् । क्यूआर कोडका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो ।
खल्तीको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृ मनोज घिमिरे र खल्ती डिजीटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेका छन् ।
स्मार्ट क्युआरमार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालै फस्र्योट हुने भएकाले यस सेवाको सुरुवातपश्चात खल्ती डिजिटल वालेटका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास कम्पनीको रहेको छ ।






















