ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

बङ्गलादेश ४० मेगावाट विद्युत निर्यात सुरु, नेपालका लागि ऐतिहासिक कोसेढुङ्गा भएको मन्त्रीको दाबी

Citizenlife ad 2082 falgun to baishak 2083

बङ्गलादेश ४० मेगावाट विद्युत निर्यात सुरु, नेपालका लागि ऐतिहासिक कोसेढुङ्गा भएको मन्त्रीको दाबी

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालबाट बंगलादेश विद्युत निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुंगा भएको बताएका छन् ।

नेपालमा उत्पादित विद्युत आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा उर्जामन्त्री खड्काले नेपालबाट बङ्गलादेश पहिलोपटक विद्युत निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुंगा भएको बताएका हुन्। “यो कोसेढुङ्गा दक्षिण एसियामा दिगो र अन्तरसम्बन्धित ऊर्जा भविष्यको लागि साझा दृष्टिकोणको प्रतिबिम्ब हो,”– मन्त्री खड्काले भने ।

उर्जामन्त्री खड्काले नेपाल विद्युत प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत व्यापार निगम लिमिटेडबीच गत असोज १७ गते त्रिपक्षीय विद्युत बिक्री सम्झौतामा हस्ताक्षरले यस उपलब्धिको लागि मार्ग प्रशस्त गरेको बताए ।

उनले बंगलादेशमा विद्युत निर्यातमा सहजीकरण गर्ने भारत सरकार र विद्युत आयत गर्ने बंगलादेश सरकारलाई धन्यवाद दिए । उक्त निर्यातले उर्जा सुरक्षा, आर्थिक वृद्धि र वातावरणीय दिगोपनलाई सहयोग पुगको उनको भनाई थियो ।

उर्जामन्त्री खड्काले सम्झौता र निर्यातले दुई देशबीचको आर्थिक विकासलाई सहयोग पुग्नुका साथै एकताबद्ध हुन सहयोग पुगेको उल्लेख गरे ।

नेपाल–भारत र बङ्गलादेशबीच गत असोज १७ (अक्टोबर ३)का दिन त्रिपक्षीय सम्झौता भएर भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यातको अनुमति दिएसँगै आजदेखि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात सुरु गरिएको हो ।

नेपालका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिर खानले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको स्वीच अन गरेर औपचारिक शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा भारतका विद्युतमन्त्री खट्टरले भारतको प्रसारण लाईन प्रयोग गरेर दक्षिण एशियाली मुलुकमा विद्युत विस्तार गर्ने काम सराहनीय भएको बताए। उनले नेपालका विभिन्न जलविद्युत परियोजनामा भारतले लगानी गरेको भन्दै उक्त परियोजनाका सम्पन्नताले विद्युत विस्तारमा थप सहजीकरण हुने उल्लेख गरे ।

मन्त्री खट्टरले नेपालको विद्युत उत्पादन विकासमा भारत सहयोग गर्न तयार रहेको बताए। हरित उर्जाको दीगो विकासका लागि यस्ता सम्झौताले सहयोग पुग्ने उनको भनाई थियो ।

बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार खानले क्षेत्रीय उर्जा समन्वयका लागि यस्ता सम्झौताले ठूलो सहयोग पुगेको बताए । यस्ता सहकार्यले एकीकृत उर्जा विकासमा दक्षिण एशियाली देशलाई समृद्ध बनाउँदै दीगो विकासलाई सहयोग पुग्ने उनको भनाई थियो ।

उनले कार्वन उत्सर्जनलाई शुन्यमा झार्ने नीति लिएको बङ्गलादेशलाई नवीकरणीय उर्जाको बाटोमा जानका लागि नेपालका जलविद्युतले सहयोग पुग्ने विश्वास व्यक्त गरे । बङ्गलादेशको आर्थिक विकासमा नेपालबाट आयत गरिएको विद्युतले सहयोग पुग्ने उनको भनाई थियो ।

उर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले त्रिदेशीय उर्जा सम्झौता र निर्यात दक्षिण एशियाको इतिहासमा लामो समयसम्म स्मरणीय हुने बताए । उनले यो साझेदारीले दक्षिण एशियाली देशमा नवीकरणीय ऊर्जाको प्रमुख निर्यातक बन्ने हाम्रो दृष्टिकोणलाई साकार पार्ने एउटा महत्वपूर्ण कदम भएको उल्लेख गरे।

सचिव आचार्यले बङ्गलादेशको ऊर्जाको माग निरन्तर बढिरहेकाले तीन राष्ट्रको आपसी सहमतिका आधारमा स्वच्छ ऊर्जा उपलब्ध गराउन नेपाल सधैँ तत्पर रहेको बताए ।

सम्झौता भएअनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत बङ्गलादेश निर्यात गर्नेछ । नेपालले निर्यात गरेको विजुली ४०० केभी प्रसारण लाइन हुँदै ढल्केबरबाट भारतको मुजफ्फरपुर–बहरामपुर हुँदै बंगलादेशको भेरमारासम्म पुर्याइनेछ । यो याममा आज एक दिन मात्र बिजुली निर्यात हुनेछ ।

कार्यक्रममा उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, उर्जा मन्त्रालयका सहसचिवद्धय चिरञ्जीवी चटौत र जीवछ मण्डल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको सहभागीता रहेको थियो ।

Health Tips Ad Road Block