काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले एक अर्ब ७३ करोड ९५ लाख ८९ हजार रुपैयाँ खुद नाफा गरेको छ । टेलिकमले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा १४.२० प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। गतवर्षको तुलनामा यो २८ करोड ७८ लाख ४१ हजारले कम हो ।
यस अवधीमा कम्पनीको कुल आम्दानी पनि घटेपछि खुद नाफा घटेको हो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ५.४९ प्रतिशत घटेको छ। यो अवधिमा कम्पनीको कुल आय १० अर्व ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ रहेको छ । गत आवको सोही त्रैमासको कूल आय १० अर्व ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँ रहेको टेलिकले जनाएको छ ।
त्यस्तै कम्पनीको कुल सञ्चालन आय १.११ प्रतिशत बढेको छ । कम्पनीको कर अघिको मुनाफा ६.४२ प्रतिशतले बढेको छ । यो अवधिमा कम्पनीको कर अघिको मुनाफा ३ अर्व ५५ करोड ३६ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर ३८ रुपैयाँ ६६ पैसा रहेको छ।
गत आवको तुलनामा यस आवमा राजश्व तथा खुद मुनाफा परिवर्तन हुनु प्रमुख कारणहरु निम्नानुसार रहेको टेलिकमले जनाएको छ
–ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तर आबद्धता आयमा गत आवको तुलनामा करिब १९ करोड ४२ लाख ४४ हजारले कमी भएको साथै ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस÷एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ ।
–राष्ट्रको संचार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको छ।
‘सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको छ ।
–सेवा संचालनको लागि आवश्यक ब्याण्डविथ विगत वर्षभन्दा कमदरमा खरिद गरिएको कारण सेवा संचालन खर्चमा कमी आएको छ।
–कम्पनीले जिएसएम अनुमतिपत्रको तेस्रो नवीकरण शुल्क २० अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८० पुसदेखि लगानी गर्न नसकेको तथा सोसम्बन्धी भुक्तानीको निर्णय २०८१ वैशाखमा भएपश्चात केही बैंकमा रहेका मुद्दती निक्षेपहरुलाई परिपक्व अवधिभन्दा अगाडि फुकुवा गरि भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब ५७ करोड९८ लाखले कमी भएको लगायत छन्।






















