काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा ११औं संस्करणको ‘फीन इलेक्ट्रो टेक–२०२४’ बिहीबारबाट सुरु भएको छ । आम उपभोक्तालाई नवीनतम र गुणस्तरीय इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन भएको यो मेला मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।
मेलाबारे जानकारी दिँदै नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रियस्तरको बृहत् यो मेलामा सम्पूर्ण विद्युतका सामग्रीहरू उपलब्ध हुने बताए । महासंघले मेला अवधिभर उपभोक्ता हकहितसम्बन्धी जन चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने बताएको छ ।
‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ भन्ने नाराका साथ आयोजना यस मेलाको उद्घाटन उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन् । मेला उद्घाटनको क्रममा मन्त्री सिंहले सरकार इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री उत्पादनका लागि आवश्यक ऊर्जा व्यवस्था मिलाउनमा लागि रहेको धारणा राखे । निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने सरकारको प्राथमिकताको रहेको उनले उल्लेख गरे ।
विद्युतीय सामग्री प्रदर्शनीको कुम्भ मेलाका रूपमा हेरिएको फीन इलेक्ट्रो टेकमा गुणस्तरीय सामग्री प्रयोगलाई प्राथमिकता दिँदै आयोजना गरिएको छ ।
मेलामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्ने वातावरण छैन भन्ने भाष्य चिर्नुपर्ने बताउँदै सत्तामा भए पनि नभए पनि अर्थतन्त्रका एजेन्डामा सबै पार्टी एक हुनुपर्ने बताए । निजी क्षेत्र देशको इन्जिन भएकाले जसबाट प्राप्त सुझाव पनि समेटेर सरकार अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्षमा कमलेश अग्रवालले नेपालबाट विद्युत् बिक्रीसँगै आन्तरिक विद्युत खपत बढाउन आवश्यक रहेको बताए । ‘सरकारले विद्युत उत्पादनको लक्ष्य पूरा गर्नु साथसाथै विद्युतको आन्तरिक खपत बढाउन पनि आवश्यक छ, यसको मूल्य घटाउँदै पनि जानु पर्छ, निजी क्षेत्र मार्कमा परेको विषयलाई बुझेर सरकारले यसको समाधान गर्दै जानुपर्यो,’ उनले भने ।
महासंघका अनुसार फीन इलेक्ट्रो टेकमा हल भित्र र बाहिर गरी ८२ वटा प्याभिलियन तथा स्टलहरू रहेका छन् । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन रहेको छ ।
‘सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवद्र्धन गर्नु पनि हाम्रो उद्देश्य हो, उद्योगमा भएका नवीनतम उपलब्धि र उपकरणहरूको बारेमा बुझ्नको लागि मेलाले मद्दत गर्नेछ,’ महासंघले जनाएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने इलेक्ट्रो टेकमा यस पटकको टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) र प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा.लि.) रहेको छ ।
यसैगरी कार्यक्रममा बोल्दै एफएनसीसीआई वस्तुगततर्फका उपाध्यक्षमा हेमराज ढकालले आयात भएर आउने सामानको अन्तःशुल्क करलाई समय सापेक्षित बनाउनु पर्ने बताए । ‘कोभिडपछि भारत तथा चीनमा पनि सानको मूल्य घटी प्रतिस्पर्धा बढेको र माग संकुचन भएको अवस्था छ, यस्तो अवस्थामा नेपालले पनि पहिलाकै भन्सार दर कायम गर्नु पर्यो, केही आइटममा बिल भन्दा बढी भन्सार महसुल लगाएको बुझेको छु,’ उनले भने ।
प्रदर्शनीमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु रहने छन् । यस्तै, मेलामा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, दिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहेको छ ।
चार दिनसम्म चल्ने प्रदर्शनीमा करिव ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा महासंघले लिएको छ । मेलाको पहिलो दिन बिहीबार ७००० जनाले अवलोकलन गरेका छन् ।






















