काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले उद्योगहरूमा काटिएको विद्युत लाइन जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रीपरिषद्को निर्देशन अनुसार यस्तो निर्णय गरेको हो ।
आइतबार बसेको मन्त्रीपरिषद् बैठकले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादको समाधान निकाल्न लाल आयोगको प्रतिवेदनको सिफारिस अनुसार महसुल निर्धारण गरी १५ दिनभित्र असुल गर्ने गरी उद्योगमा काटिएको लाइन जोड्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । मन्त्रीपरिषद्को निर्देशन कार्यान्वयन गर्ने सञ्चालक समितिले निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जानकारी दिएका छन् ।
यो निर्णयपछि प्राधिकरणले टिओडी मिटरका आधारमा उद्योगहरूबाट रकम असुल गर्ने र काटिएको बिजुली तत्काल जडान गरिने उनको भनाइ छ । प्राधिकरण सञ्चालक समितिको निर्णयसँगै प्राधिकरण व्यवस्थापनले उद्योगमा लाइन पुनः जोड्ने तयारी थालेको प्राधिकरणले जनाएको छ । आज सबै लोडको व्यवस्था मिलाएर लाइन जोडिने प्राधिकरणको भनाइ छ ।
डेडिकेटेड र ट्रङ्क लाइन महसुलबापतको प्रिमियम रकम नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले गत असोज २४ गते ४९ उद्योगको सूची र रकमसहित १५ दिने म्यादसहितको सूचना जारी गरेको थियो । सोही अनुसार कात्तिक ८ गते ३४ उद्योगको विद्युत आपूर्ति विच्छेद गरिएको थियो । ४९ मध्ये सात उद्योगको मुद्दा अदालतमा विचाराधीन रहेको र छ वटा उद्योगले अन्तिम दिन किस्ता तिरेकाले लाइन काटिएको थिएन भने दुई वटा सरकारी उद्योगको हिसाब मिलान गर्ने गरी लाइन काटिएको थिएन । लाइन काटिएका ६ उद्योगले पनि यस बीचमा बक्यौता रकमको पहिलो किस्ता तिरेपछि लाइन जोडिएको थियो । प्राधिकरण सञ्चालक समितिको यो निर्णयसँगै बाँकी २८ उद्योगमा पनि लाइन जोडिने भएको छ ।
सोमबार सार्वजनिक गरिएको लाल आयोगको प्रतिवेदन अनुसार विवादित तीन अवधिमध्ये बीचको अवधिको मात्र रकम असुल गर्न मिल्ने भनिएको छ । प्रतिवेदन अनुसार २०७२ साउनदेखि पुससम्मको अवधिमा महसुल नै निर्धारण नभएको उल्लेख छ । २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिको भने महसुल लिन मिल्ने उल्लेख छ । २०७५ वैशाखपछि पनि लोडसेडिङ अन्त्य भएकाले त्यसपछि प्रिमियम लिन नमिल्ने प्रतिवेदनमा उल्लेख छ ।






















